नियमित खोपबाट बञ्चित पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं । नियमित खोपबाट वञ्चित पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार खोप लगाइँदै छ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आइतबार खोप दिइँदैछ।

रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका बालबालिकालाई मन्त्रालयले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।

जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाइफाइड जस्ता खोप अहिले लगाइँदै छ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन्।