देशको स्वास्थ्य अवस्थाले गिज्याइरहेको सरकारः कोही उपचार नपाएर मृत्युको मुखमा,कोही लाश उठाउन नसकेर घरघरमा

अनुसा थापा-भक्तपुर

नेपालका राजनीतिक दलहरु सामान्य ग्यास्ट्रिकले च्यापेपनि उपचार गर्न विदेश पुग्छन् । राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ खर्च गर्छन्।

जनताले तिरेको करबाट उनीहरु विदेशी अस्पतालमा गएर उपचार गराउँछन्। तर, त्यही जनता यहाँ उपचार नपाएर छट्पटाइरहेको नेताहरुले देख्दैन्। सरकारी अस्पतालको अवस्था हेरिसाध्य छैन्।

न डाक्टर छन् न उपचार गर्ने उपकरण। यता, सरकारी अस्पतालकै शुल्क पनि एकदमै मँहगो छ। गरिब जनताहरु त्यो ‘अफोर्ड’ गर्न सक्दैनन्।

स्वास्थ्य व्यक्तिको आधारभूत हकअधिकारमा पर्छ । यद्यपि, नेपाली नागरिकहरु चर्को शुल्क तिरेर उपचार गराउन बाध्य छन्। पैसा नहुनेहरु रोग च्यापेर बस्न बाध्य छन्। पछिल्लो समय मुलुकमा दीर्घकालीन रोगीहरु निरन्तर बढी रहेका छन्।

कलेजो, मृगौला, फोक्सो, मेरुदण्ड, क्यान्सरलगायतका रोग थुप्रैमा देखिन थालेका छन्। अधिकांश महिलाहरु स्तन र पाठेघर क्यान्सरबाट पीडित छन्। यी रोगको उपचार एकदमै मँहगो भएकाले कतिपय रोग पालेर बसेका छन्।

सरकारले यस्ता रोगीहरुलाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने हो। विडम्बना, नेताहरुले आफ्नो रोग देखे तर नागरिकहरु रोगले तड्पिएको देखेनन्। दीर्घकालीन रोग लागेकाहरुको अन्तिम विकल्प नै मृत्यु बनेको छ।

पैसा नभएपछि के गर्ने ? उपचार नपाएपछि मर्नुबाहेक अन्य कुनै विकल्प नै रहँदैन्। आर्थिकस्तर अलिक राम्रै भएकाले पनि आफ्नो घरखेत सकाउँछन् तरपनि पुगे त हुन्थ्यो । नेता मात्र होइन् सरकारी कर्मचारीले पनि नेपालमै सहुलियतमा उपचार गर्न पाउँछन्।

सरकारी कर्मचारीका निम्ति सरकारले थुप्रै अस्पताल खोलेको छ। यहाँ उपचार सम्भव भएन् भने विदेशमा गएर उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ। तर, जनताले यहाँ के पाउँछन् ? कर तिर्ने त आखिरी जनता हुन् नि।

त्यही करमा नेतादेखि सरकारी कर्मचारीले मोजमस्ती गरेका छन् अनि मर्नुपर्नेचाँहि सँधै जनता ? सरकारी अस्पताल भनिएको छ तर निजीसरह नै शुल्क लिइन्छ। तैमाथि डाक्टर, नर्स पनि त्यस्तै छन् । अन्य मुलुकमा जनता ठूलो हुन्छन्।

नेता र कर्मचारी जनताको सेवक हुन्छन् । तर, हाम्रो मुलुकमा नेता र सरकारी कर्मचारीलाई जनता उपचार नपाएर मरेपनि कुनै मतलब छैन्। गरिब जनताहरुको अवस्था न सरकारले देख्यो न सरकारी कर्मचारीले।

विश्व एक्काइँसौ शताब्दीमा दौडिरहेको छ तर नेपालमा उपचार नपाएर पेट्रोल खन्याएर मर्नुपर्ने बाध्यताको अन्त्य अझैपनि हुन सकेको छैन्। अस्पताल लैजान सक्ने क्षमता नभएपछि बाबुआमाले आफ्नै छोराछोरीलाई साङ्लोले बाँधेर राखेका छन्।

कसैलाई वर्षौंदेखि थुनेर राखिएको छ । कोही उपचार नपाएर मर्ने दिन कुरेर बसेका छन् । पीडा सहन नसकेर कतिपयले विष सेवन गरेर प्राण त्यागेका छन्। सरकारले स्वास्थ्य बीमाको योजना ल्याएको छ।

त्यो स्वास्थ्य बीमा कस्ता व्यक्तिका लागि हो ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिला यो स्पष्ट पारिदिनुपर्यो। किन कि बाठाटाठाहरुले बीमा गरेका छन्। गरिब जनतालाई स्वास्थ्य बीमा भनेकै थाहा छैन् । फेरि बीमा गर्नलाई पनि पैसा चाहियो।

सरकारी जागिरेहरुले बीमा गराउँदै आएका छन् । जसलाई सरकारले अस्पतालमा समेत सहुलियत प्रदान गरेको छ। काठमाडौंमा करोडौंको सम्पत्ति भएकाहरुले पनि स्वास्थ्य बीमाबाट फाइदा उठाइरहेका छन्।

स्वास्थ्य बीमाको नाममा पनि हुनेखानेलाई पोस्ने काम भइरहेको छ । गरिब जनता यहाँ पनि हेरेको हेर्यै भए । सरकारले स्वास्थ्य बीमा गर्दा आर्थिक अवस्था कमजोर भएकालाई प्राथमिकतामा राख्नुपर्थ्यो । किन कि हुनेखानेले आफ्नै खर्चले उपचार गराउन सक्छन्।

स्वास्थ्य बीमाको योजना कार्यान्वयनमा ल्याएपछि स्वास्थ्य क्षेत्रमा एकदमै बेतिथि बढेको छ । अस्पतालहरुले सय जनाको उपचार गराएर हजार जनाको बिल बनाउने गरेका छन् । सरकारसंग पैसा ल्याउँदै खाने काम अस्पतालहरुद्धारा भइरहेको छ।

यता, अस्पतालले सरकारबाट आएको औषधीसमेत मेडिकलमा बेचेर पैसा खाने काम गर्दै आएका छन्। बिरामीलाई औषधी सकियो भन्ने अनि सरकारबाट आएको औषधी मेडिकललाई बेच्ने। स्वास्थ्य चौकीमा निःशुल्क उपचार र निःशुल्क औषधीको व्यवस्था सरकारले मिलाएको छ।

तर, जनताले ती औषधी सित्तैमा पाइरहेका छन् त ? सरकारले कहिले अनुगमन गरेको छ ? जनता औषधी लिन जाँदा सकियो भन्दै खाली हात फर्काउने कर्मचारीले औषधी मेडिकललाई बेच्ने गरेका छन्।

अधिकांश सरकारी अस्पतालमा स्वास्थ्यकर्मी भेटिदैनन् । स्वास्थ्य चौकीको हात पनि त्यस्तै छ । जनताले तिरेको करबाट तलब खान्छन् तर कामचाँहि निजीमा गर्छन् । हाजिर गर्ने अनि कुलेलम ठोक्ने । त्यस्ता स्वास्थ्यकर्मीलाई कसले कारबाही गर्ने ?

स्वास्थ्यकर्मीहरु यति फट्याहा छन् कि के भन्ने ? सरकारी अस्पतालमा आएका बिरामीलाई आफ्नो क्लिनिकमा रिफर गर्छन्। यहाँ उपचार सम्भव छैन् भन्दै आफूले आम्दानी गर्न सक्ने ठाँउमा पठाउँछन्।

सरकारी अस्पतालमा सम्भव नहुने उपचार निजीमा कसरी सम्भव हुन्छ ? उही डाक्टरले सरकारी र निजी अस्पतालमा छुट्टाछुट्टै उपचार गर्ने हो ?

अहिलेको स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले यसअघि पनि सो जिम्मेवारी सम्हालिसकेका छन्। एमालेका नेता शेरबहादुर तामाङ्ग हुँदाखेरि उनले दीर्घकालीन रोगीको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने भनेका थिए।

उही शेरबहादुरलाई सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट हराएर मोहनबहादुर आए । वर्तमान सरकारले उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ।

यसअघि सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव जितेका मोहनबहादुर स्वास्थ्यदेखि सूचनामन्त्री भए। तर, उनले सिन्को पनि भाँचेनन्।

आफ्नो क्षेत्रमा एउटा अस्पतालसमेत बनाउन सकेनन्। गरिब परिवारमा जन्मिएका उनको पृष्ठभूमि केलाउने हो भने उनलाई गुण्डाभन्दा केही फरक पर्दैन्।

खासा व्यापारीबाट हप्ता उठाउने उनले अहिले भक्तपुरको बालकोटमा दशौं रोपनी जग्गा छ । यता, काठमाडौंमा महलजस्ता घर छन्।

महाबौद्धको व्यापारीमाथि उनले त्यतिकै लगानी गरेका छन्। बैंकको सञ्चालकमा पनि छन्। बैंकको सञ्चालकमा बस्न कति लगानी गर्नुपर्छ ? सहकारीमा उनको पैसा कति हो कति।

उनले भ्रष्ट्राचार नगरेको भए यत्रो सम्पत्ति कहाँबाट आयो ? यस्ता माफियालाई स्वास्थ्य क्षेत्र चलाउने डोरो थमाएर जनताले कहिले सहुलियतमा उपचार पाउँछन् ?

पैसा नहुनेले सित्तैमा उपचार गर्न पाउँछन् ? उनी मन्त्री भएको पैसा कमाउनका लागि हो । हिजो पटकपटक मन्त्री हुँदा पनि उनले आफ्नो लागि काम गरे।

भोलि पनि आफ्नै लागि गर्छन् । पार्टीले पनि एउटै व्यक्तिलाई बारम्बार दोहोर्याएर मन्त्री बनाउँछन् अनि देशले कसरी निकास पाउँछ ?

जनताले त अरुलाई पनि चुनेर पठाएका थिए त ? तर, एउटैलाई किन मन्त्री बनाउने ? दुईचोटि मन्त्री हुँदा सिन्को पनि नभाँचेकालाई तेस्रो पटक मन्त्री बनाउनुको के अर्थ रह्यो ?

कांग्रेसमा नयाँनयाँ अनुहार देख्न पाइएको छ । तीमध्ये कसैलाई मौका दिएको भए हुन्थ्यो । हरेक जिल्लाबाट सांसद् निर्वाचित भएर आएका छन्।

कतिपय सांसद्को जिल्लामा अहिलेसम्म पनि अस्पताल छैन् होला। एम्बुलेन्स नभएर मर्नुपर्ने बाध्यता अझैपनि छ। त्यस्ता सांसद्लाई मौका दिएको भए उसले त्यही दुःख देखेर पनि विकास त गर्थ्यो।

पार्टीको सभापतिको गुलामी गर्नेहरु पटकपटक मन्त्री बने । तर, जनताले चुनेर पठाएका सांसद्ले मन्त्री बन्ने मौका नै पाएनन्।

माओवादीले शक्तिबहादुर बस्नेतलाई धेरै पटक मन्त्री बनायो। एमालेले विष्णु पौडेललाई कतिचोटि मन्त्री बनायो ? भीम रावल पनि तारन्तार मन्त्री भए।

अहिलेका श्रममन्त्री शरतसिंह भण्डारी बारम्बार मन्त्री भए। यिनीहरुले कामचाँहि के गरे, दोहोरिनका लागि ? अरुले कहिले पनि ठाँउ नपाउने यो कस्तो व्यवस्था हो ? यस्तै पारा हो भने जनताले अब भोट नहाल्दा पनि हुन्छ।

जहिले किन दुःख गरिरहने ? विकास कहिले हुनेवाला छैन्। पार्टीहरुको यस्तै पाराका कारण जनता निराश बनिसकेका छन्।

सबैतिर उजाडिएको छ। जनता मरेका मर्यै छन्, नेता मोटाएका मोटार्यै। स्वास्थ्य मन्त्रालय सबैभन्दा भ्रष्ट्राचारी मन्त्रालय बन्न पुगेको छ। औषधी सप्लायर्ससंग कमिशन खाने क्रम रोकिएको छैन्।

स्वास्थ्यमन्त्री बस्नेतलाई जनताको पर्वाह छैन्, पैसाको छ। अस्पतालबाट लाश निकाल्न नसकेर जनता घरघरमा चन्दा उठाउँदै हिँडेका छन्।

राज्यलाई गिज्याउने योभन्दा अरु ठूलो विषय के हो ? कतिपयको लाश अस्पतालमा कुहिएर बसेको छ । देशमा स्वास्थ्य मन्त्रालय छ तर स्वास्थ्य क्षेत्रमा रद्दीभर पनि सुधार छैन्।

किन कि स्वास्थ्य मन्त्रालयमा सबै माफियाहरु बसेका छन्। साँच्नै नै देशमा भ्रष्ट्राचार निर्मुल पार्ने हो भने मोहनबहादुर बस्नेतको सम्पत्ति छानबिन गर्नुपर्छ। उनको सम्पत्ति छानबिन गरेपछि कहाँबाट कसरी भ्रष्ट्राचार हुन्छ ? सत्यतथ्य बाहिर आउँछ।