एमाले भ्रष्टाचारीहरुको रक्षामा लागेको छ: पूर्वमन्त्री मेटमणि चौधरी

फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री मेटमणि चौधरीले नेकपा एमाले भुटानी शरणार्थी प्रकरणमा मुछिएका उच्च पदस्थलाई जोगाउने खेलमा उद्यत रहेको आरोप लगाएका छन्।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दाङ विशेष भेलालाई सम्बोधन गर्दै चौधरीले नेकपा एमालेका नेतादेखि कार्यकर्ताहरु शरणार्थी प्रकरणको अभियोगमा मुछिएको बताए। उनले एमाले मुलुकमा सुशासनको पक्षमा भन्दा पनि भ्रष्टाचारीहरुको रक्षाका लागि अग्रसर बनिरहेको आरोपसमेत लगाए।

नेकपा एमाले र नेपाली कांग्रेसको नेता कार्यकर्ताहरुको डिजाइनमा भएको नक्कली शरणार्थी प्रकरणमा धेरै नेपाली पीडित बनेको भन्दै पूर्वमन्त्री चौधरीले वर्तमान सरकारले भ्रष्टाचारीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याएर सुशासनको प्रत्याभूति दिलाउने बताए।

तर नेकपा एमाले उक्त प्रकरणमा अभियोग लागेकाहरुको बचाउमा गर्न दौडधुप गरिरहेको उनले बताए।