सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार आज हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् शनिबार विस्तार हुँदैछ। शुक्रबार नै गर्ने भनिएको मन्त्रिमण्डल विस्तार सत्तागठबन्धनमा आबद्ध नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयमा दावी गरेपछि रोकिएको थियो।

आन्तरिक छलफल गर्ने भन्दै उन्मुक्तिले शनिबार बिहानसम्मको समय मागेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति सरकारमा सामेल नभए माओवादी र कांग्रेसबाट मन्त्री नियुक्त गरेर सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ।

माओवादी केन्द्रको भागमा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय परेको छ। माओवादीबाट रमेश धामी र झपट साउद मन्त्री बन्ने निश्चित भएको छ।

यस्तै,माओवादीकी गीता देवी माल राज्य मन्त्रीमा नियुक्त हुने निश्चित भएपनि मन्त्रालय टुंगो लागेको छैन्। आन्तरिक मामिला तथा कानून मन्त्रालय कांग्रेसको भागमा परेको छ।

यसैबीच, सुदूरपश्चिम प्रदेशसभा बैठक शनिबार बस्दैछ । बैठक दिउसो २ बजेका लागि आह्वान गरिएको छ। प्रदेशसभा बैठक करिब अढाई महिना पछि बस्न लागेको हो। यसअघि २१ फागुनमा प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन प्रदेश सभा बैठक बोलाइएको थियो।