बालकृष्ण खाण पैसामा बिक्ने मान्छे होइन, चिन्ता लिनुपर्दैन,म लागेको छु: सभापति देउवा

फाइल तस्वीर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पैसामा बिक्ने व्यक्ति नभएको सभापति शेरबहादुर देउवाले बताएका छन्।

मंगलबार देउवा निवास धुम्बाराही पुगेको खाण निकट नेता कार्यकर्ताको टोलीलाई सभापति देउवाले खाण पैसामा बिक्ने मान्छे नभएको भन्दै चिन्ता नगर्न भनेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य राधा घले, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, लुम्बिनी प्रदेशकी पूर्व सांसद विनदया कार्की, महाधिवेशन प्रतिनिधि पर्वतकी मुना भुसाल,तरुणका सोलुखुम्ब अध्यक्ष अशोक झाले खाणबारे देउवासँग जिज्ञासा राखेका थिए।

देउवाले उनीहरुसँग भने,खाणा पैसा खाने मान्छे होइन। उहाँ गल्ती गर्ने मान्छे होइन। गल्ती नगरेपछि किन डराउनु। तिमिहरूले चिन्ता लिनुपर्दैन। म लागेको छु।

उनीहरूको टोलीले देउवालाई भेट्नुअघि कांग्रेस केन्द्रीय सदस्य तथा खाणकी पत्नी मन्जु पनि धुम्बाराही पुगेकी थिइन्।आज बिहान साढे ९ बजे धुम्बाराही पुगेकी मन्जुले आधा घण्टा देउवासँग कुराकानी गरेकी थिइन्।