सन्दीपले दिए दक्षिण अफ्रिका जाने राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना

काठमाडौं। नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको दक्षिण अफ्रिका भ्रमणमा सहभागी नहुने भएका छन्। आफू राष्ट्रिय टोलीसँग दक्षिण अफ्रिका नजाने भएपछि उनले टोलीका अन्य सदस्यलाई सफलताको शुभकामना दिएका छन्।

जिल्ला अदालत काठमाडौँबाट मंगलबार पनि बलात्कार मुद्दाको अन्तिम सुनुवाइ नभएपछि सन्दीपको दक्षिण अफ्रिका भ्रमण सम्भव नभएको हो। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दक्षिण अफ्रिका जाने टोलीका अन्य सदस्यलाई शुभकामना दिएका हुन्।

उनले लेखेका छन् ‘मलाई तपाईँहरूको क्षमताप्रति पूर्ण विश्वास छ। तपाईँहरू सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामु आफ्नो क्षमता देखाउनु भएको छ।

फेरि तपाईँहरूका अगाडि आफ्नो क्षमताप्रति विश्वास गर्ने समय आएको छ। तपाइहरू जहाँ जानु भए पनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोला। सफल टोली र सुरक्षित यात्राको शुभकामना ।

नेपाली टोली अन्तिम तयारीको लागि मंगलबार बेलुकी दक्षिण अफ्रिका जाँदैछ। दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान र युएईसँग मैत्रीपूर्ण खेल खेल्नेछ।