भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले गर्दैछन् यस्ता ९ सम्झौता

काठमाडौं । चारदिने औपचारिक भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ। दुई प्रधानमन्त्रीको भेटवार्तापछि ऊर्जा व्यापारसम्बन्धी रणनीतिक सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच बिहीबार बिहान हैदराबाद हाउसमा द्विपक्षीय हित र चासोका विविध विषयमा औपचारिक वार्ता हुने कार्यक्रम छ।

दुई प्रधानमन्त्रीबीच बिहान ११ः५ देखि आधा घन्टा बेग्लै छलफल हुनेछ भने त्यसपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ। प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री रमेश रिजाल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल सहभागी छन् ।

बुधबार साँझ मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री प्रचण्डसँग भेट गरी नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने औपचारिक वार्ताका एजेन्डा र भारतको सुरक्षाचासोबारे जानकारी दिएका छन्।

प्रधानमन्त्री बसेको होटेल आइसिटी मौर्यको १४औँ तलामा डोभाल र क्वात्राले भेटवार्तामा गरेका थिए । आजको नयाँपत्रिका दैनिकमा छ ।

के–के सहमति र समझदारी हुँदै छन् 

१-प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्तापछि दीर्घकालीन रूपमा नेपालबाट भारतमा विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर हुँदै छ। सम्झौताले नेपालमा उत्पादित बिजुली भारतीय ऊर्जाको खुलाबजार मूल्यअनुसार दीर्घकालका लागि भारतमा बिक्री गर्ने ढोका खोल्नेछ।यसअनुसार नेपालमा उत्पादित बिजुली भारतमा बेच्न अब पटकपटक सम्झौता गर्नुपर्ने छैन । १० वर्षमा १० हजार मेगावाट बिजुली भारतीय खुला बजारमा बेच्ने उद्देश्यसहित सम्झौता हुन लागेको हो। प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलले भने, ‘यसपटक ऊर्जा र जलविद्युत्सम्बन्धी महत्वपूर्ण सम्झौता हुनेछ।

२- तल्लो अरुण जलविद्युत् आयोजना भारतको सरकारी कम्पनी सतलज जलविद्युत् निगमले निर्माण गरिदिने सम्झौतामा पनि हस्ताक्षर हुँदै छ । नेपालले निःशुल्क २१५ विद्युत् पाउने र भारतीय कम्पनीले नेपालमा रोयल्टी शुल्क तिरेर विद्युत् भारतीय बजारमा ल्याउनेछ । कुल ६६९ मेगावाट उत्पादनका लागि करिब ९३ अर्ब लगानी सतलज जलविद्युत् निगमले दर्ता गरेको तल्लो अरुण जलविद्युत् कम्पनीबाट हुनेछ । परियोजनाका लागि नेपालले आयकरमा १५५ छुट सुविधा दिएको छ ।

३-अरुण तेस्रो परियोजना निर्माणसँगै त्यहाँबाट डाइभर्ट हुने पानीलाई सुरुङमार्गमा प्रवेश गराएर तल्लो अरुण जलविद्युत् परियोजनामा खसाउने गरी निर्माण हुन लागेको छ । आगामी अक्टोबरदेखि निर्माण कार्य प्रारम्भ हुनेछ । प्रधानमन्त्री प्रचण्डले यो परियोजनालाई ‘गेम चेन्जर’ भनेका छन् ।

४-कर्णाली फुकोट जलविद्युत् आयोजना निर्माणको पनि समझदारी हुनेछ । यो भारतको राष्ट्रिय जलविद्युत् कम्पनी ९एनएचपिसी०ले निर्माण गर्ने सहमति भइसकेको छ ।

५- नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत् प्रसारण लाइन निर्माणबारे पनि सम्झौता हुनेछ। सुरुमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ५० मेगावाट बंगलादेश निर्यात गर्न सकिने गरी हस्ताक्षर हुन लागेको हो। यसबारे जानकार एक अधिकारीले भने, ‘यो सांकेतिक समझदारी हो। यसले बंगलादेशसँग नेपालको दीर्घकालीन ऊर्जा व्यापारका लागि ढोका खुल्नेछ। भारतीय प्रसारण लाइनको शुल्क तिर्ने गरी नेपालबाट बंगलादेशमा ऊर्जा व्यापार हुनेछ।

६- पारवहन सन्धिमा पनि हस्ताक्षर हुँदै छ। यो सन्धि विगतमा नै टुंगिएको थियो। बिहीबार दुई प्रधानमन्त्रीको उपस्थितिमा हस्ताक्षर हुने छ।

७- वीरगन्जमा निर्माण भएको एकीकृत जाँचचौकीको उद्घाटन हुनेछ। महेन्द्रनगरस्थित दोधारा–चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास गरिँदै छ। नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्ड जोड्ने मानसखण्ड सर्किटसम्बन्धी सहमति खोज्ने गृहकार्य भइरहेको छ।पश्चिम बंगालको सिलिगुडी पानीट्यांकीदेखि झापाको काँकडभिट्टासम्म सीमापार पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर हुने भएको छ। यसैगरी अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तारका विषयमा पनि समझदारी हुने गरी तयारी भएको छ।

८- भारतको नेसनल पेमेन्ट कर्पोरेसन र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच सीमापार विद्युुतीय भुक्तानी खुला गर्ने सहमतिमा हस्ताक्षर गर्ने तयारी छ।

९-नेपालले मागेअनुसार भैरहवा विमानस्थल सञ्चालनका लागि भारतले कञ्चनपुरबाट हवाई प्रवेश अनुमति दिन सकिने संकेत दिएको छ। यसबारे बिहीबार थप छलफल हुनेछ।