भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित तीन प्रतिवादीको बयान सुरु

फाइल तस्वीर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी,आङटावा शेर्पा र समशेर मियाँको बयान सुरु भएको हो।

टोपबहादुर पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव हुन्।

उनी नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारमध्ये एक रहेको भन्दै मुद्दा प्रक्रिया अघि बढाइएको हो।

यस्तै शेर्पा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्। मियाँ भने हज समितिको अध्यक्ष हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा लिन थालिएको हो।

बुधबारसम्म १२ प्रतिवादीको बयान लिइसकिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १७ जना पक्राउ परेका छन्। उक्त प्रकरणका आरोपितमध्ये १३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।