राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसद विकास कोष खारेजीको माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्दै संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन्।

बिहीबार संघीय संसद सचिवालयमा पुगेर सांसदहरु डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ,सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा।तोसिमा कार्की लगायतले संकल्प प्रस्ताव दर्ता गरेका हुन्।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्रमा सांसदको योजनामा बजेट दिने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड छुट्याइएको छ।

असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्यूँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको भन्दै रास्वपा सांसहरुले यो कार्यक्रममाथि संसदमा छलफल गराउन खोजेको बताएका छन्।

उनीहरुले संसद विकास कोष विगतदेखि नै विवादित कार्यक्रम रहेको भन्दै यसमा राखिएको बजेटको विश्वसनीयतामाथि प्रश्न चिह्न उठाएका छन्।

अर्थतन्त्र धरासायी भएको अवस्थामा यस्ता विवादित र स्रोतको उचित उपयोग हुननसक्ने कार्यक्रमबाट राष्ट्रिय ढुकुटी दोहन हुने रास्वपा सांसदहरुको निष्कर्ष छ।