पाल्पाको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

सांकेतिक तस्वीर

काठमाडौं। पाल्पाको रैनादेवी छहरा-८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो।

अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी-१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। विजय पोखरेल सोही वडाका वडासदस्य हुन्।

आइतबार घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो। घटनास्थलमा मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी-१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी-२ पोखराथोककी २५ वर्षीया सीता गौतम छन्।

उपचारका क्रममा मृत्यु भएका २ वर्षीय संयोग मृतक सीताका छोरा हुन्।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ साढे ५ बजेतिर दुर्घटना भएको थियो।

दुर्घटनामा १० जना घाइते छन्। घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ धरमपानी बस्ने ७ वर्षीय समीर पाण्डेय, सोही स्थानका १० वर्षीय अनुप सोमरे,पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान बस्ने ५ वर्षीया आर्या भण्डारी र सोही स्थानकी ३४ वर्षीया लक्ष्मी पोखरेलको अवस्था गम्भीर छ। उनीहरुको उपचार भैरहवा मेडिकल कलेज रुपन्देहीमा भइरहेको छ।

यस्तै अर्घाखाँचीको पाणिनी-१, का ६६ वर्षीय रामबहादुर विक, सोही स्थानका ६ वर्षीय संयोग गौतम, सोही स्थानकी ५ वर्षीया पर्विष्टी पोखरेल, सोही स्थानका १० वर्षीय सोलिन परियार र गुल्मीको रुरु गाउँपालिका बलेटक्सारका ९ वर्षीय सार्थक ज्ञवाली पनि घाइते छन्।

उनीहरुको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भइरहेको छ। यस्तै पाणिनी-१, अर्घाखाँचीका ४० वर्षीय हरि गौतम बुटवल चौराहा अस्पतालमा उपचाररत छन्।