एएफसी यू-२० महिला एसियन कप: नेपाल आज म्यानमारसँग भिड्दै

काठमाडौं। नेपालले मंगलबार एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो पहिलो खेल आज खेल्दैछ । नेपालले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र म्यानमारको सामना गर्नेछ।

म्यानमारको राजधानी याङ्गोनस्थित रंगशालामा उक्त खेल खेलिने छ। नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार,मंगलबार साँझ ५ः४५ बजे सुरु हुनेछ। नेपाली टोली पहिलो खेलमा म्यानमारलाई हराएर प्रतियोगिताको सुखद सुरुआत गर्ने आशमा छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको छनोट प्रतियोगितामा हासिल गरेको सफलताले टोलीको मनोबल उच्च रहेको बताए।

प्रतियोगिताको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा उनले दोस्रो चरणको छनोटमा पनि नेपाली टोली हरेक खेलमा उच्च मनोबल लिएर मैदानमा ओर्लने दाबी पनि गरे।

छनोट प्रतियोगिताको दोस्रो चरणमा नेपाली टोली समूह ’बी’ मा परेको छ। नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपेइ रहेका छन्। नेपाले जुन ८ तारिखमा चीन र जुन १० तारिखमा चाइनिज ताइपेइसँग छनोट खेल खेल्नेछ।

यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो चरणको छनोटमा प्रवेश गरेको हो।

 दीपा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा गोलरक्षकतर्फः कविता विक,लिला जोशी र सावित्री किसान छन्।

डिफेन्समा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुल,सिमरन राई, दिव्या यस्माली मगर,प्रतीक्षा चौधरी,सजनी थोकर र कुमारी तामाङ रहेका छन्।

यसैगरी मिडफिल्डरमाः दीपा शाही (कप्तान),सरस्वती हमाल,मनमाया दमाई, सुनकला राई, हिमा रावत, सुष्मा जिटी,अञ्जली माचामासी र सारा बज्राचार्य रहेका छन्। स्ट्राइकरमा भने अमिषा कार्की, ममता पुन, गरिमा राई र सदिपा भोलन रहेका छन्।