नागरिकताको विरोध गरेको भन्दै रास्वपा सभापति रविको मधेसमा जलाइयो पुत्ला

फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले रोक लगाएको विरोधमा मधेसमा विरोध प्रदर्शन भएको छ।

सर्वोच्चको निर्णयविरुद्ध जनकपुरधामसहित तराई मधेशभरि विरोध प्रदर्शन गरिएको छ। नागरिकता दिन राज्यले प्रयास गर्दा रास्वपाले विरोध गरेको भन्दै रविविरुद्ध नारावाजीसहित पुत्ला दहन गरिएको छ।

नागरिकता विहीन संघर्ष समिति नेपालले सर्वोच्चको निर्णयविरुद्ध आइतबार साँझ जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको थियो भने सोमबार विहानैदेखि जिल्ला प्रशासन घेराउ गरेका छन्।

संघर्ष समितिका राष्ट्रिय अध्यक्ष इन्जिनियर इन्द्रजीत साफीको नेतृत्वमा पुगेको नागरिकताविहीन युवाहरुको एक समूहले सर्वोच्च अदालतको निर्णयविरुद्ध नारावाजी गर्दै टायर बालेर विरोध प्रदर्शन गरे।

अध्यक्ष साफीले सोमबार बिहान ९ बजेदेखि मेचीदेखि महाकालीसम्म देशैभरका जिल्ला प्रशासन कार्यालय बन्द गर्ने चेतावनी दिएका थिए।

सोहि क्रममा समितिले धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कार्यालयभित्र प्रवेश गर्न अवरोध गरेपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ।

प्रहरीले गरेको लाठीचार्जबाट दर्जनभन्दा बढि आन्दोलनकारीहरु घाइते भएका छन् । यसैगरि, वीरगञ्जमा रास्वपा सभापति रवि लामिछानेको पुत्ला दहन गरिएको छ।

नागरिकताविहीनलाई नागरिकता दिन राज्यले प्रयास गर्दा रास्वपाले विरोध गरेको भन्दै रविविरुद्ध नारावाजीसहित पुत्ला दहन गरिएको हो।

रविले मधेसलाई उपेक्षा गरेको, मधेसका समस्यालाई समाधान गर्न नचाहेको भन्दै रवि र एमाले अध्यक्ष केपी ओलीविरुद्ध प्रदर्शनकारीहरु आक्रोशित थिए।