कोषकै सदस्यबाट ठगिँदै पशुपतिनाथ

काठमाडौं । पशुपतिनाथ मन्दिरपरिसरमा पूजापसल, पार्किङस्थल, क्याफेलगायत सञ्चालन गर्दै आएका व्यवसायीले त्यसवापतको भाडा पशुपति क्षेत्र विकास कोषलाई तिर्न अटेरी गरेको पाइएको छ।

व्यवसायीले पशुपतिनाथ क्षेत्रको जग्गा र सटर प्रयोग गरेबापतको भाडा बुझाउन अटेरी गर्दा लामो समयसम्मको रकम उठ्न बाँकी छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार पशुपति क्षेत्र विकास कोषले पनि आम्दानी तथा खर्चका शीर्षक, सम्पत्ति कोषको वर्गीकरण, व्याख्यालगायत लेखा नीति र निर्देशिकासमेत तयार गरेको छैन।

कोषका पूर्वसदस्य सचिव गोविन्द टन्डन कोषका पदाधिकारीहरूको कमजोरीका कारण व्यवसायीले भाडा तिर्न आनाकानी गरेको बताउँछन् ।

यस्तै मन्दिरपरिसरमा सञ्चालित १ सय ४८ वटा फूल पसलमध्ये अधिकांशले २०७३ सालदेखिको भाडा रकम बुझाएका छैनन् ।

कोषका अनुसार महिनाको ५ सय रूपैयाँ मात्र भाडा भए पनि उनीहरूले बुझाउन आनाकानी गरेका छन्। कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार पटकपटक ताकेता गर्दा पनि करिब १ करोड रूपैयाँ उठ्न बाँकी छ।

पशुपति क्षेत्र विकास कोष मन्दिर तथा पूजा व्यवस्था नियमावलीमा पशुपतिनाथ क्षेत्रभित्र पूजा सामग्रीको व्यापार गर्न अनुमति लिनुपर्छ र त्यसको अनुगमन कोषले गर्नुपर्छ ।यो खबर आजको नागरिक दैनिकमा छ।