जनताले काँग्रेसको एकलौटी सरकार चाहेका छन्: नेता संग्रौला

काठमाडौं। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कुनैपनि पद, प्रतिष्ठा र अवसरलाई प्राथमिकता नराखी दुरदराजमा बसेर संगठन निर्माणमा खटिएका कार्यकर्ताहरूले नै काँग्रेस बचाएको टिप्पणी गरेकी छन्। ती कार्यकर्ताले अब देशमा काँग्रेसको एकलौटी सरकार बनाउने गरी संगठन बनाउन चाहेको उनको भनाइ छ।

नेता संग्रौलाले देशभरका कार्यकर्ताहरूले पद,प्रतिष्ठा भन्दा पनि बलियो काँग्रेस र एकलौटी सरकार चाहेको जिकिर गरिन्। आइतबार नेपाली काँग्रेस जाजरकोटले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा डा.संग्रौलाले प्रतिपक्षीको भूमिकामा काँग्रेसले खरो उत्रिन नसकेको भन्दै गुनासो गरिन्।

चुनाव जित्नेहरूले आफूलाई सर्वैसर्वा ठान्ने र हार्नेहरूले दोषारोपण गर्ने प्रवृत्ति हाबी हुँदा काँग्रेसको भविष्य संकटमा पर्ने चिन्ता थपिएको उनको भनाइ छ। उनले नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि बताइन्।

‘आज चुनाव जित्ने जनप्रतिनिधिहरूले आफू पपुलर भएर र सर्वैसर्वा भएर चुनाव जितेको दाबी गर्छन्। तर पार्टीसँगको सम्बन्ध बिगारेका छन्। टिकट पाएर हार्नेहरू फलानोका कारण हारेको भनेर गीत गाइरहेका छन्।

पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छैन,उनले भनिन्।उनले टिकट, पद र प्रतिष्ठा नचाहिने सच्चा काँग्रेसीहरू दुरदराजमा बसेर संगठन बनाइरहेको बताइन्।