सहकारी छानविन समितिको पहिलो बैठकले गर्यो दुई दिनभित्र कार्यविधि बनाउने निर्णय

काठमाडौं। सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले दुई दिनभित्र कार्यविधि बनाउने निर्णय गरेको छ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको समितिको बैठकले दुई दिनभित्रमा समितिको कार्यविधि बनाएर अर्को बैठकमा पेश गर्ने निर्णय गरेको हो।

कार्यविधिको मस्यौदा बनाउने जिम्मेवारी समिति सचिवालयलाई दिइएको छ। समितिको पहिलो बैठक सभामुख देवराज घिमिरेसमेतको उपस्थितिमा बसेको थियो।

बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभाबाट पारित समितिको कार्यादेश, राजनीतिक दलहरुका बीचमा भएको सहमति, कार्यक्षेत्र र अनुसूचिमा समावेश भएका सहकारीको नामावलीसहितको दस्तावेज समिति सभापति सूर्य थापालाई हस्तान्तरण गर्नुभएको थियो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति थापाले तोकिएकै समयमा अनुसूचि भित्रका सहकारीहरुमा केन्द्रित भएरै काम सम्पन्न गर्नेगरी छलफल भएको जानकारी दिनुभयो।

उहाँले समिति सदस्यहरुले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि काम सक्ने प्रतिवद्धता व्यक्त गरेको भन्दै समितिको प्रतिवद्धता पनि त्यही रहेको बताउनु भयो।

उहाँले भन्नुभयो –बैठकमा समितिको कामलाई अगाडी बढाउने सन्दर्भमा छलफल गरेका छौँ। आज हामीले परिचय सँगसँगै सामान्य केही निर्णय मात्रै गरेका छौँ। जस्तो, कार्यविधि बनाउनुपर्ने छ।

समितिको आन्तरिक कार्यविधि मस्यौदा गर्न सचिवालयलाई निर्देशन दिएका छौँ। त्यसमा कार्ययोजना, ३ महिनाको निर्धारित समयलाई मध्यनजर गरेर समयभित्रै काम सम्पन्न गर्नेगरी समितिले गर्नुपर्ने कामको कार्ययोजना र कार्यविधिको मस्यौदा गर्न जिम्मा दिने काम भएको छ।

सभामुखज्यूले औपचारिक रुपमा प्रतिनिधि सभाबाट पारित समितिको टिओआर, यसको राजनीतिक सहमती, कार्यक्षेत्र र अनुसूचीमा समावेश भएका सहकारीको नामावलीसहितको दस्तावेजपनि हामीलाई हस्तान्तरण गर्नुभएको छ।

हामीले बढीमा दुई दिनभित्र कार्यविधि मस्यौदा गरिसकेपछि त्यसलाई छलफल गरेर टुंग्याउन अर्को बैठक गर्नेगरी आजको बैठक सकिएको छ। विवादको कुनै कल्पनै नगर्नुस् अहिले।

सहकारीको समस्यालाई समाधान गर्नेगरी, तोकिएका अनुसूची भित्रका सहकारीहरुमा केन्द्रित भएरै हामीले काम सम्पन्न गर्नुपर्छ भन्ने छलफल भएको छ। आज बैठक बसेको मितिले तीन महिना गणना हुन्छ।

समितिका सबै सदस्यहरुले तीन महिनाभित्र अहोरात्र काम गरेर भएपनि सम्पन्न गर्नुपर्छ भन्ने प्रतिवद्धता राख्नुभएको छ। बैठकको आजको प्रतिवद्धता पनि त्यहीँ छ।

बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै समिति सदस्य ईश्वरीदेवी न्यौपानेले तीन महिनाभित्रै काम सम्पन्न गर्नका लागि रात दिन नभनी काम गर्ने समझदारी भएको बताउनु भयो। उहाँले आफूहरु कुनैपनि बहानामा समय थप गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो – ‘तीन महिनाको लागि समय दिने। १५÷१५ दिन थपेर पुनः तीन महिना पु¥याउने प्रचलन पनि नभएको होइन। तर बोल्ने क्रममा सबै सांसदहरुले के राख्नुभयो भने तीन महिनाभित्र सक्नुपर्छ। रातदिन नभनी काम गरौँ भनेर सामान्य समझदारी कायम गरेका छौँ।

समिति सदस्य लेखनाथ दाहालले कार्यादेशको मातहतमा बसेर समयभित्रै काम पूरा गर्ने बताउनु भयो। उहाँले समितिले गर्ने कामहरु सर्वसम्मत निर्णयको आधारमा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीलाई सदनले दिएको जुन म्याण्डेट छ, कार्यादेशको मातहतभित्र बसेर कार्यावधिभित्रै हाम्रो काम पूरा गर्छौं। हामीले अल्पमत बहुमतमा गर्दैनौँ। सर्वसम्मत रुपमा निर्णय प्रक्रिया गर्छौं।

टिओआरको मातहतमा बसेर समस्या समाधानको उपायसहितको प्रतिवेदन तयार पारेर सिफारिस गर्छौं। सहकारी ठगहरुलाई कारबाहीको सिफारिस,सहकारी पीडितहरुलाई न्याय निरुपण गर्नका लागि सिफारिस गर्छौं।

समिति सदस्य शिशिर खनालले पनि तोकिएको समय तीन महिनाभित्रै काम सम्पन्न गरिने बताउनु भयो । उहाँले आफूहरुले जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको पनि बताउनु भयो।

उहाँले भन्नुभयो –आज छलफल हुँदै गर्दाखेरी सबै माननीयज्युहरुको यो जिम्मेवारीलाई तोकिएको तीन महिना भित्र नै पूरा गरौँ भन्ने स्प्रिट आज मैले पाएँ। हामीले गम्भीरतापूर्वक पनि लिएका छौँ र दिएको समयावधिभित्र काम गर्नुपर्छ भन्ने स्प्रिट पनि छ समितिमा।

समितिको तीन महिनाको समय आज पहिलो बैठक बसेको दिनदेखि प्रारम्भ हुने जनाइएको छ। समितिको आगामी बैठक शुक्रवार बस्ने बताइएको छ।