सरकारले बेलैमा बुद्धि नपुर्याए शुरु हुनेछ अर्को जनयुद्ध

जमिनबाट मूल फुटेको र आकाशबाट परेको पानी ठाडो खोल्चो हुँदै खोलामा गएर मिसिन्छ। र, खोला खोला मिलेर समुन्द्र बन्छ। समुन्द्र आफ्रनै गतिमा बग्छ। जत्रो सुकै ठुलो पहाड भएपनि उसले भत्काइदिन्छ । समुन्द्रलाई न रोक्न सकिन्छ न त थुन्न नै। ०५२ फागुल्न १ गते माओवादीले जनयुद्ध शुरु गर्यो।

देशभर आफ्नो संगठन विस्तार गर्यो। माओवादीमा लागेका सर्वसाधारण मर्न र मार्न तयार भए। त्यतिखेर माओवादीले शोषक,सामान्ती,विदेशी हस्तक्षेप र राजतन्त्रको विरोधमा आवाज उठाएको थियो। त्योसँगै बैंक तथा वित्तिय संस्था वा मीटरब्याजीविरुद्ध समेत आवाज उठायो । समाजमा भएका विकृति, विसंगतिविरुद्ध पनि माओवादी लाग्यो।

माओवादीले आवाज उठाएसँगै सबै शोषक, सामान्तीहरु गाउँ छोडेर सदरमुकाम वा राजधानी आए। शोषक, समान्तीहरुको अन्त्य हुन थालेपनि माओवादीले जनताको मन जित्दै गयो। र, करोडौं सर्वसाधारण माओवादीकै लागे। माओवादीले जिल्ला जिल्लामा भएका आर्मी ब्यारेक, प्रहरी चौकीहरु कब्जा गर्दै गयो।

राज्य कमजोर बन्दै गयो अनि माओवादी शाक्तिशाली। माओवादीले शुरु गरेको दश वर्षे जनयुद्धमा १७ हजार जनता शहिद भए। लाखौं घाइते अनि हजारौं अंगभंग भए। माओवादी शक्तिशाली बन्दै गएपछि राज्यको केही लागेन। र, वार्तामा बोलाइयो। विभिन्न मितिमा सरकार र माओवादीबीच वार्ता भयो। यद्यपि, सफल भने भएन।

०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा लिए। कीर्तिनिधि विष्ट, तुल्सी गिरी र कमल थापालाई राखेर राजा ज्ञानेन्द्रले सत्ता चलाए।

सात राजनीतिक दललाई नजरबन्दमा राखियो र जनताको अधिकार पनि खोसियो। सोविरुद्ध गिरिजाप्रसाद कोइरालाले न्यूरोड, भोटाहिटी र रत्नपार्कमा आन्दोलन गरे।

यद्यपि, उक्त आन्दोलनमा जनता र दलका कार्यकर्ताहरुको त्यति सहभागीता भएन। यसले राजनीतिक दल र उनीहरुको आन्दोलन कमजोर हुँदै गयो त राजा झन्ै बलियो।

न्यूरोडमा आन्दोलनका क्रममा प्रहरीले गिरिजाको टाउकोमा लाठी प्रहार गर्यो। उनी बेहोस भए र अस्पताल भर्ना भए । राजा बलियो भएपछि तत्कालिन सात राजनीतिक दलहरु एकजुट भए।

सात राजनीतिक दल र माओवादीबीच भारतमा १२ बुँदे सम्झौता भयो । सम्झौतासँगै नेपालमा आन्दोलन चर्कियो । सातै राजनीतिक दलहरुले देशभर आन्दोलन चर्काए। ०६२–०६३ को उक्त आन्दोलन १९ दिन भएको थियो। सयौं मानिस शहिद भए। र, हजारौं मानिस अंगभंग भए।

त्यतिखेर गृहमन्त्री कमल थापा थिए। आन्दोलन दबाउन उनी जनता मार्न तयार भए। आन्दोलनले उग्र रुप लिएपछि राजा ज्ञानेन्द्रले जनताको अधिकार जनतालाई नै फिर्ता गर्नुपर्यो ।

१९ दिने आन्दोलनमा माओवादीको पनि ठुलो सहयोग थियो। राजा ज्ञानेन्द्रले सत्ता छोडेपछि गिरिजा प्रधानमन्त्री बने। अनि माओवादी पनि शान्ति वार्तामा आयो। माओवादी र तत्कालिन सरकारबीच सहमति भयो। अन्ततः जनयुद्धको अन्त्य भयो। ०६५ जेठ १५ गते राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडे र नागाजुनमा गएर बस्नुपर्यो।

यता, देशमा लोकतन्त्र गणतन्त्र आयो। ०७२ असोज ३ गते नेपालमा नयाँ संविधान निर्माण भयो। जसअनुसार सात प्रदेश बन्यो । अनि सिंहदरबारको अधिकार गाउँ गाउँमा गयो।

अहिले जनताकै छोराछोरी उच्च पदमा पुगेका छन्। माओवादीले आफुले उठाएका मुद्दाहरु त सफल बनायो । तर, माओवादी शान्ति सम्झौतामा आएसँगै शोषक, सामान्तीहरुको पुनः स्थापना भयो।

सर्वसाधारण ठग्ने, लुट्ने क्रम बढ्यो र अहिले पनि कायमै छ । झन् जग्गा दलालीहरुको त संख्ष हवात्तै बढ्यो । जोकोही जग्गा प्लाटिङमा लागे । किनकि पहिला त माओवादीले खेतीयोग्य जमिन खण्डीकरण गर्न दिदैंन्थ्यो । एक रोपनी जग्गामा १६ आना हुन्छ । दलालीहरुले रोपनीको लाखमा किनेर खण्डीकरण गरी आनाकै ६०–७० लाखमा बेचे ।

बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर पनि दलालीहरुले ३५ सयदेखि चार हजारमा बेचे । भारतमा एक लाखमा पाइने सवारीसाधन अटो शोरुमहरुले नेपाल ल्याएर ३०–३५ लाखमा बेचे । माओवादी शान्ति सम्झौतामा आउनेबित्तिकै बैंक, सहकारी, लघुवित्त र फाइनान्स खोल्नेको संख्या हवात्तै बढ्यो ।

व्यापारीहरुले कालोबजारी गर्न थाले । मेनपावर, कन्सल्टेन्सीहरुको ठगीधन्दा बढ्यो । अहिले व्यवसायीको नाममा ठगीधन्दा मौलाएको छ । माओवादीले जनयुद्ध शुरु गर्दा गाउँबाट लखेटिएका बैंक, सहकारी, लघुवित्त, फाइनान्सहरु फेरि गाउँ नै पुगे । अहिले गाउँदेखि सहरसम्मको मानिसलाई यीनीहरुले सुकुम्बासी बनाएका छन् ।

करोडौं जनता बैंक तथा वित्तिय संस्था र मीटरब्याजीबाट पीडित भएका छन् । कयौं सुकुम्बासी अवस्थामा पुगेका छन् । बैंक, वित्तिय संस्थाले ठग्नु ठगेका छन् । करोड मूल्य पर्ने धितो राखेर ३० लाख कर्जा दिने, त्यसमा पनि तीन लाख घुस, दुई प्रतिशत सेवासुविधा र भन्नेबेला १२ प्रतिशत ब्याज लिनेबेला ७५ प्रतिशत । यता, तीन किस्ता नतिर्नेबित्तिकै करोडको धितो लाखमै पचाइदिने।

बैंक,वित्तिय संस्थाकै कारण कयौं सर्वसाधारणले आत्महत्या गरेका छन्। आफु त मरे नै आफ्ना परिवार पनि सकाए। जनता मार्ने बैंक, वित्तिय संस्थाका सञ्चालक,अध्यक्ष र कर्मचारीलाई भने सरकारले कारबाही गरेन। केही वर्षअघि भक्तपुरको थिमीमा एक व्यक्तिले बैंकले आफ्नो घर लिलाम गरेपछि आफुसँगै आफ्नी श्रीमती र एसईई दिएका छोरालाई मारे।

यो त उदाहरण मात्रै हो। बैंक, वित्तिय संस्थाकै कारण कयौं सर्वसाधारणले आफ्नो ज्यान त फ्याल्छन् नै सँगै परिवार नै सक्काउँछन् । अहिले सहकारीबाट करोडौं बचतकर्ता पीडित भएका छन्।

देशभर दर्तामा रहेका ३५ हजार बढी सहकारीले करोडौ बचतकर्ताको ३९ खर्ब रकम खाइदिएको छ। अहिले सर्वसाधारण जनता भन्छन्, ‘बैंक, वित्तिय संस्था ठग, चोर हुन्।

तर, राज्य यो कुरा सुनिरहेको छैन। सरकार न यस्ता बैंक, वित्तिय संस्थाका सञ्चालक, अध्यक्षलाई कारबाही गर्छ न त संस्थाको दर्ता नै खारेज गरिदिन्छ। बैंक, वित्तिय संस्थामा पैसा राख्न र ऋण लिन नहुने सर्वसाधारण बताउँछन्। सरकारले बेलैमा बैंक,वित्तिय संस्थाविरुद्ध कदम नचाले यहाँ ठुल्लै आन्दोलन हुनेछ।

किनकि बैंक, वित्तिय संस्थाका कारण करोडौं जनता पीडित भएका छन्। पीडित पीडित एकजुट भएमा सरकारले नियन्त्रणमा लिन नसक्ने आन्दोलन हुनेछ। त्यसैले, अब राज्यले सोच्न जरुरी छ।

बैंक,वित्तिय संस्थाविरुद्ध सरकारले कदम चालेमा आन्दोलन रोकिएला तर यसलाई अझै ख्याल ठट्टामा लिएर हिजो राजाले दरबार छोडेझैं राजनीतिक दल र सत्तामा बसेकाहरुले देश छोड्नुपर्ने हुन्छ।

अहिले पत्रपत्रिकामा बैंकले दिनहुँ ऋणको सम्पत्ति लिलामीका लागि सूचना निकालिरहेका छन्। बैंकले करोडको धितो लाखमा खाइरहेको छ। यता,अहिले बजारमा घरजग्गा, गाडी र सेयरमा मन्दी छ। ऋणीले चाहेर पनि धितो बिक्री हुन्न। अनि ऋण तिर्न नसकेपछि बैंकले ऋणीको करोड मूल्य पर्ने धितो लाखमै पचाइरहेका छन्।

बैंक, वित्तिय संस्थाका कारण लाख मात्र होइन, करोड जनता पीडित भएका छन्। पीडितहरु राज्यविरुद्ध नै लागिसकेका छन्। बस नेतृत्वकर्ताको अभाव छ । यदि कसैले यसको नेतृत्व लिएमा अर्को जनयुद्ध शुरु हुनेछ। अनि त्यतिखेर सरकार के गर्छ ? अब सरकारले बेलैमा आवश्यक कदम चाल्नुपर्छ । नत्र जनताको आन्दोलनको उदाहरण इतिहास बोकेका दलहरु समाप्त हुन पुग्नेछन्।