प्रचण्ड–ओलीको फन्दामा माधव नेपाल,सरकार ढाल्ने रेशबाट देउवा ‘आउट’
काठमाडौं। सत्ताको समीकरण फेरबदल हुँदा नेपाली काँग्रेस अहिले प्रतिपक्षी कित्तामा छ। अघिल्लो गठबन्धनमा नेपाली काँग्रेस सत्ताको सबैभन्दा ठूलो दलसहति सरकारमा थियो। तर फागुन २१ पछि भने नेकपा एमालेसहितको नयाँ सरकार कायम भयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसलाई ‘आउट’ गरेर नयाँ समीकरण बनाएपछि चिँढिएको काँग्रेसले वैकल्पिक गठबन्धन बनाएर कुनैपनि हालतमा सरकार ढाल्ने रणनीति बुनेको थियो। तर सरकार बनाउने नेपाली काँग्रेसको बदलापूर्ण योजना अहिलेसम्म आइपुग्दा विफल भइसकेको छ।
नेपाली काँग्रेसले वर्तमान सरकारलाई विस्थापित गर्न विभिन्न रणनीति चालेको थियो। काँग्रेसले सत्ता साझेदार दलहरुका नेताहरुमाथि राजीनामा दिनुपर्नेसम्मका गम्भीर आरोपदेखि विभिन्न दलका नेताहरुलाई प्रधानमन्त्रीको कार्डसम्म फालेको थियो।
रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेसहित सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधव नेपाललाई पनि काँग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो। तर पर्याप्त आधार नदेखेका रवि र माधवले काँग्रेसको प्रस्तावलाई स्वीकार गरेनन्।
सत्तामा सामेल दलहरुलाई नै आफ्नो कित्तामा तानेर वैकल्पिक गठबन्धन बनाउन खोजेको काँग्रेसले सुरुदेखि नै असफलता व्यहारोर्दै आयो। वैकल्पिक गठबन्धनका लागि अन्तिमसम्म प्रयास गरेपनि असफल भइराख्दा काँग्रेसले गृहमन्त्री रविमाथि शहकारी ठगी प्रकरणलाई जोडेर लामै सयम संसद पनि अवरोध गरेको थियो।
यो विषय अहिले संसदीय छानविन समिति गठनसम्म आइपुगेर रोकिएको छ। यसपछि पनि काँग्रेसले सत्तारुढ दलहरुलाई हातमा लिने प्रयास गरेको थियो ।
जसमा मुख्य हतियारको रुपमा नेकपा एकीकृत समाजवादी र जसपालाई बनाएको थियो। सत्ता गठबन्धनसँग असन्तुष्ट रहेका बेला उनीहरुलाई हातमा लिएर नयाँ सरकार निर्माण गर्ने काँग्रेसको दाउ थियो। तर काँग्रेस यो योजनामा पनि सफल भएन।
यही विषयले जसपा विभाजति हुन पुग्यो भने नेकपा एकीकृत समाजवादी काँग्रेसको योजनालाई साथ दिने विषयबाट ‘व्याक’ भयो।
नेकपा एसका अध्यक्ष माधव नेपालले काँग्रेसलाई पछि सम्म नै सहयोग गरेपनि अन्तिममा भने वर्तमान सत्ता गठबन्धनतिरै फर्किए।
गठबनधनमै रहेपनि माधवले एक समय केन्द्रदेखि प्रदेश सरकारसम्म नै काँग्रेससँग सहकार्य चाहेका थिए।
यसै आडमा बार्गेनिङ गरेका माधवले सुदुरपश्चिममा आफ्नो दलबाट दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सफल भए। तर जसपा विभाजन र अन्य विविध राजनीति घटनाक्रमले उनलाई काँग्रेससँग साँठगाँठ गरिरहन अनुकुलन भएन।
फलत ः मधेश प्रदेशमा नयाँ सरकार गठन हुँदासम्म माधव सत्ता गठबन्धनसँगै सहकार्यमा जोडिन बाध्य बने। यी विविध रणनीति बुनेर वैकल्पिक सरकार बनाउने प्रयास गरेको काँग्रेस पछिल्लो समय आएर भने हार खाएको छ। योसँगै काँग्रेस अब सरकार ढाल्ने र बनाउने खेलमा नलाग्ने काँग्रेसकै नेताहरुले बताउन थालेका छन्। विविध प्रयास असफल भएपछि वैकल्पिक गठबन्धनको रेशबाट अब काँग्रेस पाखा लाग्ने भएको हो।
पछिल्लो केही दिनभित्रै काँग्रेसका नेताहरुले आफूहरु सत्ताका लागि मरिमेट नगर्ने मुडमा पुगेका छन्। काँग्रेस अब बलियो प्रतिपक्षीका रुपमा उभिने निचोडमा पुगसकेको उनीहरु बताउन थालिसकेका छन्।
सुरुवाती दिनहरुमा काँग्रेसले वर्तमान सरकारलाई विस्थापित गर्न सकेसम्मकै प्रयास गरेको थियो। तर सत्तापक्षको रणनीतिसँग पराजित भएको काँग्रेस अब सरकारको नेतृत्व खोज्दै नजाने तर परिआएको अवस्थामा सत्तामा जाने अन्तिम निश्कर्षमा पुगेको हो।
अघिल्लो सरकारबाट बाहिर्याएकोे बदलामा वैकल्पिक गठबन्धन गरेर बदला लिने काँग्रेसको योजनालाई प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले तत्कालका लागि निस्तेज पारिदिएका छन्। फलतः काँग्रेस सरकार बनाउने र गिराउने खेलबाट टाढिन बाध्य भएको हो।