राजनीतिक दल झुठ बोल्नमै व्यस्त,जनता ताली पिट्नमै मस्त

घरको घरमूलीले एउटा गलत निर्णय गरेभने समग्र परिवारले त्यसको असर भोग्नुपर्छ। परिवारका सदस्यले दुःख पाउँछन्। यदि देश चलाउने जिम्मा लिएकाले गलत निर्णय गरे भने त्यसको असर समग्र जनतामा पर्छ। जनताले त्यसको भुक्तान जुगैजुगसम्म चुकाउनुपर्छ।

मुलुकमा कोरोना देखिएपछि सरकारले दुईपटक लकडाउन पर्यो। पहिलोपटकः २०७६ चैत ११ र दोस्रोपटक २०७८ वैशाख १६ गते। जनताले तिरेको अर्बौं रुपैयाँ खर्च गरेर सरकारले कोरोना खोप किन्यो। सरकारले राहत पनि बाँड्यो। खोप खरिद र राहतमा ठूलो भ्रष्टाचार भयो।

जनताले निःशुल्क पाउनुपर्ने खोप सरकारी कर्मचारीहरुले पाँच हजार रुपैयाँसम्म लिएर बेचेको सुन्नमा आएको थियो। जबकी त्यो जनताले तिरेको करबाटै खरिद गरिएको थियो। राहत पनि आफ्नै आफन्तलाई बाँडे। पहुँच नभएकाले न खोप पाए न राहत। ऊ पनि त नेपालकै नागरिक थियो।

खोप लगाएकाहरुलाई अहिले विभिन्न स्वास्थ्य समस्या देखिएको छ। हातखुट्टा लाटो हुने, शरीर दुख्नेजस्ता समस्या भएको खोप लगाएकाहरु सुनाउँछन्। कोरोनाबाट बच्न लगाइएको खोपले उल्टै स्वास्थ्य समस्या निम्त्याएको छ। खोप लगाउनेहरुले खोपले नै स्वास्थ्यमा समस्या देखिएको महसुश गरेका छन्।

तर, सरकारलाई मतलब छैन्। त्यतिबेला सरकारमा भएकाहरुलाई त कमाउने माध्यम भयो, जनताचाँहि रोगी बने। कमिशन खानका लागि सरकारले हतारहतार खोप खरिद गर्ने निर्णय गर्यो। यता, विभिन्न देशले त्यतिकै दिएको खोप पनि लियो। सरकारमा बस्नेहरु जनताप्रति अलिकति पनि जिम्मेवार छैनन् भन्ने यो एउटा उदाहरण मात्र हो।

हाम्रो देशका न राजनीतिक दल जनताप्रति जिम्मेवार छन् न व्यापारी। कमिशन खान पाए भइगो। सरकार पनि व्यापारीकै कुरा सुन्छ। किन कि कमिशन दिने त व्यापारी नै हुन्। व्यापारीको त उद्देश्य नै कमाउने हो। नेताहरुले त यो खोप नै लगाएनन् होला। किन कि उनीहरुलाई त यहाँको स्वास्थ्य क्षेत्रमाथि नै विश्वास छैन्।

थोरै पेट दुख्यो भने त विदेश पुग्छन्, जनताले तिरेको कर खर्चेर। त्यसैले यिनीहरुले यहाँ खोप लगाउनु परको कुरा हो। नेताहरुलाई आफ्नो ज्यानको एकदमै माया छ। तर, जनताको हकमा मरे मरको अवस्था छ। सर्वसाधारणसँग उपचार गराउन विदेश जानसक्ने हैसियत छैन्।

किन कि यहाँ धेरै गरिब छन्। मेडिकल गएर सिटामोल किन्न नसक्ने जनता यहाँ छन्। सरकारमा बस्नेहरु यहाँको अस्पताल सुधार गर्नुको साटो विदेश दौडिन रुचाउँछन्। कमिशन जो खान पाइन्छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला लकडाउन भयो।

सो अवधिमा सबैभन्दा धेरै विदेश ऋण लिएको पाइन्छ। तर, त्यो पैसा कहाँ गयो ? जनताको टाउकोमा त ऋणको भारी बोकाइएको छ। नेताहरु यस्ता ‘फटाहा’ भएकि के भन्ने ? जताबाट पनि खाने। जनता भोकभोकै मरिरहेका हुन्छन्, उनीहरु भ्रष्टाचारमै व्यस्त हुन्छन्।

विडम्बना, जनताको आँखा खुल्दैन्। नेताहरुले के गरे ? भन्ने कुरा उनीहरु छिटो बिर्सिन्छन्। जनतालाई कतै सेवासुविधा छैन्। छ त नेता र तिनका झोलेहरुलाई मात्र। स्वास्थ्य एकदमै संवेदनशील क्षेत्र हो। तर, यही क्षेत्रमा सबैभन्दा धेरै भ्रष्टाचार छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका धेरैलाई भ्रष्टाचारको आरोप लागिसकेको छ।

तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडा, उपेन्द्र यादव,पद्मा अर्याल, भानु ढकाललगायतका भ्रष्टाचारको आरोप लागेको थियो। भ्रष्टाचारको आरोप लागेपनि छानबिन हुँदैन्। भएपनि जोगाइन्छ। सरकारले धेरै थरीका औषधी निःशुल्क बनाएको छ। जनताले ती औषधी निःशुल्क पाउनुपर्छ।

तर, स्वास्थ्यकर्मीहरु त्यो औषधी मेडिकलमा लगेर बेच्छन् अनि पैसा आफ्नो खल्तीमा हाल्छन्। अहिले पनि कतिपय जिल्लाको स्वास्थ्य कार्यालयमा सिटामोल पाइँदैन्। सिटामोल नभएर जनता तप्तपिरहेका हुन्छन्, तर राजनीतिक दल, सरकारी कर्मचारी कमिशन खानमै मस्तमगन छन्।

जनताको नजरमा राजनीतिक दल र सरकारी कर्मचारी भ्रष्टाचारी हुन्। उनीहरुले पाए देशै बेचेर खाने जनता बताउँछन्। सरकारले त्यतिबेला एक जनामा कोरोना देखिनेबित्तिकै लकडाउन गर्यो। हामी जनता बचाउँछौं भन्यो। तर, सरकारको उद्देश्य त अर्कै थियो। कमिशन जो आउने थियो।

अहिले त जनता ऋण तिर्न नसकेर आत्महत्या गरिरहेको छन्। यद्यपि, सरकार वास्तै गर्दैन्। कसैको सहकारीले पैसा खाइदिएको छ त कसैलाई बैंक तथा वित्तिय संस्थाले बिल्लीबाठ बनाएको छ। खान नपाएर कतिपयले मृत्युको बाटो रोजिरहेका छन्। सरकारलाई अहिलेचाँहि चासो छैन्।

सरकारमा बस्नेहरुका लागि जनता भोट र नोट हुन्। जनताबाट भोट लिने, सरकारमा जाने अनि जनताले तिरेकै करमा मोजमस्ती गर्ने । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको छ। विकास भन्ने भ्रष्टाचार गर्ने, शिक्षाको नाममा पनि भ्रष्टाचार। आगामी आर्थिक वर्षका लागि सरकारले शिक्षामा ठूलो बजेट छुट्याएको छ।

तर, शिक्षा क्षेत्रमा के सुधार भएको छ ? सरकार बजेट छुट्याउँछ तर १२ पास गरेपछि कोही यहाँ बस्नै मान्दैन्। अनि शिक्षामा छुट्याइएको बजेटमा पनि भ्रष्टाचार हुन्छ । अहिले अधिकांश कन्सल्टेन्सी, म्यानपावर राजनीतिक दल र सरकारी कर्मचारीकै छ। एकातिर शिक्षाको नाममा छुट्याइएको बजेटमा भ्रष्टाचार गर्ने अर्कोतिर विद्यार्थी विदेश पठाउँदा कमाउने।

शिक्षा क्षेत्रमा किन सुधार भइरहेको छैन् ? कसैको ध्यान यता गएको छैन् । आफ्नै कार्यकर्तालाई शिक्षक भर्ती गरेका छन्। पढ्न नजान्नेले अरुलाई के पढाउँछ ? गरिबको नाममा गीत गाउने अनि कमाउने । गरिबको नाम बेच्ने आफू माथि पुग्ने खेल भयो । देश र जनता कमाइखाने भाडो मात्र बन्यो।

कोही गरिब कै नाम बेचेर लाखौंको घडी बान्ने भए। कोही महलमा बस्ने भए। तर, जनता जहाँको त्यही छन्। अहिले पनि जनता राजनीतिक दलको कार्यक्रममा जान्छन्। त्यहाँ गएर ताली पिट्छन्। किन कि तिनले नेताहरुको असली अनुहार देखिसकेका छैनन्। देशलाई तिनले कहाँ पुर्याए ? जनताले बुझेका छैनन्।

जनताहरु पनि सही, गलत छुट्याउन नसक्ने भए। आफ्ना नेताप्रति उनीहरु आँखा चिम्लेर भरोसा गर्छन्। जसको गलत फाइदा तिनले उठाएका छन्। उनीहरुको गल्ती जनताले देखाइदिनुपर्छ। गलत छन् भने विरोध गरिदिइहाल्नुपर्छ। नाकि ताली पिट्ने हो। जो हेर्यो गफ मात्र ठोक्ने खालको भए।

सबै व्यक्तिगत स्वार्थमै रमाएका छन् । वास्तवमा भन्दा नेपालमा जनता नै छैनन् । सबै पार्टीका कार्यकर्ता हुन् । जनता त पेट पाल्न विदेश गएका छन्। यहाँ त नेताका झोले छन्, जो तिनले जति गलत गरेपनि वाहीवाही गरिरहन्छन् । कार्यकर्ताकै कारण पनि देश सकिएको हो।

देश र जनताको भाव देखाएर गीत गाउनेहरुलाई कार्यकर्ताले नै बहिष्कार गर्नुपर्छ। पहिलो त कार्यकर्ताको आँखा खुल्नुपर्यो। अब कार्यकर्ता होइन्, जनता बनौं भनेर सोच्नुपर्यो। देशमा जतिपनि निर्णय हुन्छ,त्यो कमिशन खानकै लागि हुन्छ । नाकि देश र जनताको लागि। त्यसैले जनताले जबसम्म खबरदार गर्दैनन् तबसम्म यो चलिरहन्छ।

जनता चुइक्क नबोल्ने, नेताहरु विदेशी ऋणमा मोजमस्ती गरिरहने । हरेक नेपाली टाउको ऋणको भार बढेको बढ्यै छ । तर, जनतालाई नै मतलब छैन्।