कम्युनिस्ट नेताहरू नेतृत्व तहमा पुगेपछि श्रम गर्न छाडेर चन्दाको पछि लागे: महासचिव विप्लव

फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले कम्युनिस्ट पार्टीहरूको उदय श्रमिककै बलमा आएको टिप्पणी गरेका छन्। उनले भने कम्युनिस्ट नेताहरू नेतृत्व तहमा पुगेपछि श्रम गर्न छोड्ने गरेकाे समेत आरोप लगाएका छन्। 

शनिबार ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै महासचिव विप्लवले साे कुरा बताएका हुन।  नेतृत्व तहमा पुगेपछि श्रम गर्न छोडेर नेताहरू चन्दाकै पछि दौडेको आरोप लगाएका हुन्।

उनले भने,कम्युनिस्ट पार्टीको उदय अथवा समाजवाद श्रमिककै बलमा आयो। तर मालिक भएपछि नेतृत्वले श्रमिक बन्न छोडेको देख्यौँ। मालिक मात्र बन्ने चेतनाले शोषण मात्रै गर्‍यो।

कम्युनिस्ट पार्टीमा नेता बन्दै गएपछि श्रम नगर्ने देखिँदै आएको छ। मास्टर डिग्री गरेको छ तर,१० हजार रुपैयाँका लागि चन्दा माग्दै धाउने गरेका छन्। यो एउटा परम्परा बन्दै गएको देखिएको छ।

कम्युनिस्ट नेताहरूमा आफ्नो क्षमता प्रदर्शन गरेर अर्थ निर्माणमा ध्यान नदिने प्रवृत्ति हाबी हुँदै गएको उनको भनाइ छ। कम्युनिस्ट पार्टीलाई श्रमिकहरूको पार्टीमा बदल्नुपर्छ भनेर अभियान चलाएर आफू अघि बढेको चन्दले उल्लेख गरे।

कम्युनिस्ट पार्टीलाई श्रमिकहरूको पार्टी बनाउनुपर्दछ। जसले जे जति योग्यता हासिल गरेको भए पनि आ–आफ्नो ठाउँमा श्रम गर्नु आवश्यक छ। श्रम नगर्ने हो भने त्यसले परनिर्भरता ल्याउँदो रैछ भन्ने अनुभूति भएको छ। विज्ञ भए पनि आफ्नो क्षेत्रमा गरे पनि सबैले श्रम गर्ने कुरा संगठनमा लागु गर्नुपर्दछ।

चन्दले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अलमलिएको बताए। उनले आगामी आर्थिक वर्षको बजेटको सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आलोचना गरिरहेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गरे।

उनले भने,अर्थतन्त्रको कुरा गर्ने बित्तिकै आर्थिक दृष्टिकोण,आर्थिक निर्माण,पुँजी निर्माणको कुरा गर्ने बित्तिकै दुईवटा कुरा हो। एउटा,राज्यको कुरा हो। एउटा, संस्था र नागरिकको कुरा हो।

राज्य अलमलिएको देख्छौँ हामी अहिले। राज्यले गरिराखेको छ तर राज्य अलमलिएको देख्छौँ हामी। बजेट आयो। बजेटको बारेमा यति धेरै विवादास्पद कुराहरू छन् अहिले।

राम्रा पनि छन् त्यहाँ। तर सरकारमै बसिरहेका पार्टीहरू,उनकै नेताहरू,नेताहरू पनि कस्तो भन्नुहुन्छ भने निर्णायक प्रभाव पार्ने खालका नेताहरूले आलोचना गरिरहेका छन्। आलोचना पनि निराशापूर्ण छ।

अलमलिएको छ। हरेक वर्ष तपाई, हामीले कस्तो सुन्नुपर्ने परिस्थिति छ भने आशा भन्दा पनि आलोचना र निराशा यस्तो बढी प्रवाह छ,

नेपालमा बजेट माथि यति ठुलो आक्रमण छ कि अहिले। बजेटले केही पनि गर्दैन भन्दाभन्दै बेकारको,वाहियात,हावादारी भन्नेसम्म गइसक्यो।

सरकारमै बसेका नेताहरू,मन्त्री भएकै मान्छेहरूले यो बजेट काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा?

सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको देखिँदैन।

धेरै ठुलो विचलन हुने देखिन्छ अहिलेको तर्कहरू हेर्दा खेरी। यतै अलमलिने वा केही समयपछि यो सरकार पनि भताभुङ्ग हुन्छ कि भनेको जस्तो देखिन्छ,सरकारमै बसेका मान्छेहरूको कुरा गर्दा।

हामीले भनेको के हो भने राज्य कम्तीमा पनि एउटा आत्मनिर्भर अर्थतन्त्रको दिशामा गइदिए नेपालका सबै विज्ञहरूलाई,पार्टीहरूलाई पनि आर्थिक विषयमा केन्द्रित गरेर छलफल गर्दिए हामी पनि भाग लिन चाहन्थ्यौँ।