आज यी स्थानमा वर्षा र तराईमा तातो लहरको सम्भावना

काठमाडौं। हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखा सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ।

केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना देखिएको महाशाखाको भनाई छ।

तसर्थ, ती भू-भागहरूमा आगामी ४ दिन (असार ३ गते देखि २०८१ असार ६ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।