बालेनमाथि काँग्रेस,एमाले र समाजवादीका वडाध्यक्षको घेराबन्दी,बजेट रोक्ने चेतावनी

काठमाडौं। काठमाडौं महानगरपालिकाको नगरसभा बैठकमा समेत संसदकै जस्तो दृश्य देखियो। वडाध्यक्षहरुको अवरोध र सदस्यहरु बैठक स्थलबाटै उठेर हिडेपछि नीति तथा कार्यक्रम नै पारित हुन सकेन। अहिले मेयर बालेन शाहले राजनीतिक धङधङी देखाएको आरोप लगाएका छन्,भने वडाध्यक्षहरुले एकलौटी गरेको दाबी गरेका छन्।

काठमाडौं महानगरपालिकाको १५ औं अधिवेशनको दोस्रो बैठकमा अचम्मको दृश्य देखियो। चालु आर्थिक वर्ष ०८०÷८१ को प्रगति समिक्षा र आगामी आर्थिक वर्ष ०८१÷८२ को नीति तथा कार्यक्रममा बोल्न चाहने नगर सदस्यहरुले बोल्ने कार्यतालिका थियो। सोही अनुरुप बैठक विधिवत् रुपमा सुचारु भयो।

मेयर बालेन शाहले बैठकको अध्यक्षता गर्दै सुरु भएको जानकारी दिए र प्रस्तुत नीति तथा कार्यक्रममा बोल्न चाहने सदस्यहरुलाई नाम टिपाउन ५ मिनेटको समय पनि दिए। तर नगर सभाबाट एक्कासी सबै सदस्यहरु सभाहलबाट बाहिरिए। यो दृश्य हेर्दा असहज मात्र देखिएन,स्वयंम् मेयर बालेन पनि के गर्ने÷नगर्ने अन्योलमा देखिए।

महानगरमा जस्तो दृश्य देखिएको थियो, जुन यसअघि देखिएको थिएन। संसदमा हुने सत्तापक्ष र प्रतिपक्षबीचको मुठभेडजस्तो दृश्य आइतबार काठमाडौं महानगरमा देखिएको हो।

चौतर्फी घेराबन्दीमा रहेका स्वतन्त्र मेयर बालेन शाहलाई केही समय पहिले आफ्नै वडाध्यक्षहरुले सडकपेटी फराकिलो बनाउने काममा असहयोग गरेका कारण पछाडी सर्नु परेको थियो। आइतबार भएको नगरसभामा पनि बालेनलाई आफ्नै सदस्यहरुले साथ नदिएपछि बैठक विषय बस्तुमै प्रवेश नगरी जेठ १० सम्मका लागि स्थगित गर्नुप¥यो।

मेयर बालेन शाहको फेसबुक पेजमा राखेको स्टाटसलाई हेर्ने हो भने नगरसभाको बैठकमा राजनैतिक गन्ध छिरेको र केही दलका सीमित नेताहरुले १६० जना सदस्यहरुको बोल्ने अधिकार हनन गरेको उल्लेख छ।

उनले भनेका छन्, ‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो। काठमाण्डौ महानगरको कुनै पनि नीति, योजना बारेमा छलफल बन्द कोठामा हुँदैन।

जे हुन्छ,हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ। यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ। काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला।

बालेनले यस्तो स्टाटस राख्नुका पछाडीको कारण थियो, बैंठक सुरु हुनुभन्दा पहिले केही वडाध्यक्षहरु छुट्टै बसेर एजेन्डा सेट गरेका थिए। जसकै कारण सदस्यहरु उठेर हिडेका हुन्।

अर्थात् काँग्रेसबाट निर्वाचित १७ नम्बरका अध्यक्ष नविन मानन्धर, नेकपा एकीकृत समाजवादीबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोल र एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली छुट्टै कोठे बैठक बसेर छलफल गरेका थिए।

उनीहरुका अनुसार नीति तथा कार्यक्रममा संसोधन हाल्न छलफल गरिएको थियो। तर यो कुरा थाहा पाएपछि कोठामा बसेर गरेको छलफल मान्य नहुने भन्दै मेयर बालेनले बैठक नै स्थगित गरिदिएका हुन्। अहिले वडाध्यक्षहरुले मेयर बालेनले एकलौटी निर्णय गर्न खोजेको र विदेश जाने हतारोमा बैठक स्थगित गरेको आरोप लगाएका छन्।

मेयरका स्वकीव सचिवका अनुसार सोमबार बिहान साढे २ बजे बालेन बाज्रिल प्रस्थान गर्दैछन्। मेट्रोपोलिसको पहिलो बोर्ड बैठकमा सहभागी हुन उनी ब्राजिल उड्न थालेका हुन्।

किनकि गत वर्ष बालेन महानगर विश्व संघको सञ्चालक समिति सदस्यमा निर्वाचित भएका थिए। फलतः दोस्रो बैठकबाटै नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेका उनलाई वडाध्यक्षहरु बाधक बनेका हुन्।

यसैपनि बालेन निर्वाचित भएदेखि नै दलीय जनप्रतिनिधिको घेराबन्दीमा छन्। स्वतन्त्र रुपमा निर्वाचित बालेनलाई आफ्नै वडाध्यक्षहरुले समेत साथ नदिँदा हरेक कदममा चुनौती र असहज वातावरणको सामना गर्नुपरिरहेको छ।

यसपटकको विवाद पनि त्यसकै निरन्तरता हो। महानगरभित्रमात्रै नभएर सबैको आँखाको तारो बनेका बालेन केन्द्रीय राजनीतिका शिर्ष नेतादेखि अदालत हुँदै व्यवसायीहरुको समेत घेराबन्दीमा छन्। तथापी आफ्नो अडानमा अडिग हुन छोडेका छैनन्।