सरकार संकटमा: ओली र रवि बटारिएपछि तनावमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। पछिल्लो समय सत्तापक्षकै दबाब र आलोचनाको सिकार बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनजीविकाका सवालमा पनि चेपुवामा परेका छन्।
दिनहुँका सडक आन्दोलन, अत्यावश्यक पेट्रोलियम पदार्थमै हड्ताल, जनता पानी माग्दै आन्दोलन गर्नुपर्ने अवस्था तथा कर्मचारीसमेत आन्दोलित हुँदा अर्को दबाब परेको छ। यद्यपि, प्रधानमन्त्री प्रचण्डलाई यी समस्याले खासै छोएको देखिँदैन।
सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति सन्तुुष्ट कोही छन् भने ती माओवादीका मन्त्रीहरु मात्रै हुन्। एमालेले बजेटमाथि असहमति जनाउँदै सरकारको विरोध गरिरहेका बेला रास्वपाका मन्त्रीहरु खल्तीमा राजीनामा बोकेरै हिँडेकोसम्मका घुर्की लगाइरहेका छन्। बुधबार मात्रै प्रचण्डले ‘हजुर हस्, भइहाल्छ भन्ने होइन, काम देखिनुप¥यो’ भन्दै कर्मचारीलाई बोलाएर निर्देशन दिए।
लगत्तै संसद सचिवालयका कर्मचारी आन्दोलित बने। यतिमात्र नभई गृहमन्त्रलयमा समेत हस्तक्षेप गरेर तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई जागिर नजाने सुनिनिश्चतता गरेका प्रचण्डले रास्वपा वा एमाले कोही पनि अहिले नै सरकारबाट बाहिरिने तयारीमा नरहेको ब्रिफिङ गरेका छन्।
राजनीतिक रुपमा देखिएका संकटहरु राजनीतिक रुपमा समाधान गर्न सकिए पनि जनजीविकाका सवालमा देखिएका संकटहरुले प्रधानमन्त्री थप दबाबमा परेका छन्।
करिब एक महिनादेखि चुरे जोगाउन अभियन्ताहरु काठमाडौंमा धर्नामा छन्। उनीहरुले चुरो दोहन रोक्न माग गर्दै सरकारसँग ज्यान जोगाउन पानीका लागि अनुरोध गरिरहेका छन्।
शीर्ष नेताहरु लापता भएको भन्दै उनीहरुले नारा लगाइरहेका बेला प्रधानमन्त्री प्रचण्ड भने चुरे जोगाउनुपर्छ भन्दै सिरहा पुगेर नाटक देखाइरहेका थिए। सोमबार मात्रै काठमाडौं उपत्यकाभर पेट्रोलियम पदार्थको आपूर्ति ठप्प भयो।
विभिन्न सात बुँदे माग राख्दै आन्दोलित बनेका ढुवानी मजदुरहरुका कारण पेट्रोलको हाहाकार हुने बुझेका सर्वसाधारण दिनभर लाइनमा बसे। तर, उनीहरुका मागबारे अध्ययन गर्न समिति बनेसँगै आन्दोलन स्थगित भएको छ। कर्मचारीलाई काम देखाउन निर्देशन दिएकै दिनदेखि संघीय संसद सचिवालयका कर्मचारी आन्दोलित बने।
तलब र अतिरिक्त भत्ताको माग गर्दै उनीहरु धर्नामै बसेका थिए। अहिले पनि बजेट रकमान्तर रोकिएपछि अर्थ मन्त्रालयमा खैलाबैला मच्चिएको छ। आगामी आर्थिक वर्षको बजेटमै असारमा रकमान्तर गर्न नपाउने उल्लेख गरिएपछि कर्मचारीहरु पछिल्ला केही महिनादेखिको तलब नै नपाउने तनावमा देखिएका छन्।
यसबाहेक विपद् व्यवस्थापनमा आवश्यक पूर्वतयारी नभएको, किसानहरुका समस्या लगायत कैयन समस्या ज्यूँका त्युँ छन्। काम गर्दा फेहरिस्त सुनाउन पछि नपर्ने र फोटो झुण्ड्याउन मात्रै प्रधानमन्त्री नबनेको बताउने प्रचण्डलाई पहिला यी केही प्रतिनिधिमूलक घटनाहरुले गिज्याइरहेका छन्।
एकातिर सरकारमा सहभागी भएका मन्त्रीहरुले अपेक्षाकृत काम गर्न सकेका छैनन्। तर उनीहरुले कहिले मन्त्री, मन्त्रीले प्रधानमन्त्री त प्रधानमन्त्रीले कर्मचारीलाई काम नगर्नुको दोष थोपर्ने गरेका छन्।
बजेटप्रति कांग्रेसको लचिलो प्रस्तुती, एमाले गरम र सरकारको कार्यशैलीप्रति एकीकृत समाजवादीको पुरानै असन्तुष्टीले बजेट नै पारित नहुनेसम्मका अड्कल समेत भइरहेका छन्।
तर प्रचण्ड भने रास्वपा र एमालेका देखाउने असन्तुष्टी मात्रै भएको दाबी गरिरहेका छन्। आगामी निर्वाचन लक्षित गतिविधिमा रहेको एमाले सरकारका स–साना कमजोरी र असन्तुष्टीहरुलाई पचाएर जाने रणनीतिमा रहेकाले तत्कालका लागि प्रचण्ड दबाबमा जस्तो देखिए पनि सुरक्षित नै देखिन्छन्।