गृहमन्त्री लामिछानेलाई सुझावः बोलेर होइन्,काम गरेर देखाऊ
अनुसा थापा

नेपालीमा एउटा चर्चित उखान छ,‘भोक्ने कुकुरले टोक्दैन्, टोक्ने कुकुरले भुक्दैन्।यसको अर्थ काम गर्नलाई दुनियाँलाई सुनाइरहन आवश्यक छैन्। चुपचाप काम गर्न सकिन्छ । काम गरेको नतिजा त जनताले देखिहाल्छन्। छिमेकी होस् या अन्य मुलुक उनीहरुको हरेक निर्णय गुमसुममै हुन्छ।
उनीहरु बोल्नभन्दा पनि काम गर्नमा बढी विश्वास राख्छन्। त्यसैले त उनीहरुको देशले विकासमा फड्को मारिरहेको छ, जनताले सुःख पाएका छन्। भारतकै एउटा उदाहरण नै यसका लागि काफी छ। २०७३ सालमा भारत सरकारले कसैले सुइँको नपाउनेगरी पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाइदियो।
पछि मात्र सञ्चारकर्मी र जनताले थाहा पाए । तर, नेपालका नेताहरुको पेटमा केही टिक्दैन्। मन्त्रिपरिषद्को बैठक बस्नुअगावै सबै छताछुल्ल भइसकेको हुन्छ। उनीहरुले माफियाहरुलाई पहिले नै सूचित गराएका हुन् कि ? यो निर्णय हुँदैछ छ है, रोक्न चाहन्छौं भनेर पैसा लिएर आउ भन्न खोजेझैं देखिन्छ।
माफियाहरुले त आफूलाई घाटा हुने निर्णय हुनै दिँदैनन्। पैसा खान दिएर हुन्छ कि भन्सुन गरेर रोकिदिन्छन्। पहिले एउटा गोप्य निर्णय भएको थियो। त्योबाहेक कुनै निर्णय गोप्य रुपमा भएको छैन्। गृहमन्त्री हुँदा वामदेव गौतमले कसैले थाहा नपाउनेगरी आईजीपी अच्युतकृष्ण खरेललाई पदमुक्त गरेका थिए।
उनको सामसुम सो प्रस्ताव मन्त्रिपरिषद्मा लगेर स्वीकृत गर्न लगाएका हुन् । वर्तमान गृहमन्त्री रवि लामिछाने जतिबेला पनि फाइल खोल्छु भन्छन्। उनले भन्न जानेको यति मात्र हो । पद सम्हालेदेखि उनको मुखबाट एउटै बोली निस्किरहेको छ । तर, बोलीमै सीमित भएको देखिन्छ।
गृहमन्त्री लामिछानेले वर्तमान आईजीपी वसन्त कुँवरलाई हटाउन खोजेको चर्चा छ। यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस विषयमा स्पष्टीकरण दिइसकेका छन्। उनले एउटा सार्वजनिक कार्यक्रममा आईजीपी कुँवर फेर्न सम्भव नरहेको जनाएको छ। प्रधानमन्त्रीले त्यो बोल्ने शब्द हो ?
गृहमन्त्रीले पनि ढिन्ढौरा पिट्नुभन्दा अगाडि मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपर्थ्यो। के कारणले चाँहि आईजीपी हटाउने ? देखाउन सक्नुपर्यो। फेरि गृहमन्त्रीले चाहेर मात्र पनि आईजीपी हट्दैन् । सबैबीच छलफल हुन्छ । उनले गरेका काम हेरिन्छ, काम गर्ने क्षमता हेरिन्छ।
अनि निर्णय लिइन्छ । तर, यहाँ त पहिले नै मैले यो गर्न लागेको भनेर फुकिसक्छन्। अनि त्यस विषयमा टिकाटिप्पणी शुरु हुन्छ। एउटाले यो भन्छन्,अर्कोले त्यो । अनि कार्यान्वयनमा जाने त कल्पनाबाहिरकै विषय बन्छ । धेरै निर्णय यसरी नै तुहिएका छन्। व्यक्ति होइन्, उसको काम गर्ने क्षमता हेरौं।
कुनै निर्णय गर्दा त्यसले राष्ट्र र जनतालाई कति फाइदा हुन्छ ? त्यो मनन गर्न सिकौं। अदालतले बालमन्दिरको जग्गा हिनामिना गर्नेहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको महिनादिन नाघिसक्यो । तर, प्रहरीले कसैलाई पक्राउ गरेको छैन्। एउटालाई समातेको थियो, त्यो पनि छोडिदियो।
यस्तो पाराले हुन्छ ? अदालत पक्राउ पूर्जी जारी गर्ने, प्रहरी थमाइदिने। अदालत माथि की प्रहरी ? राष्ट्रिय स्वतन्त्र पार्टीबाट चार जना मन्त्री छन्। शिक्षामन्त्री सुमना श्रेष्ठ र श्रममन्त्री डिपी अर्यालको अहिले सबैतिर ‘हाईहाई’ छ। किन कि उनीहरुले काम गरिरहेका छन्।
तर, पार्टी सभापतिसमेत रहेका गृहमन्त्री लामिछाने र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ काम गर्दैनन्, खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको छु मात्र भन्छन्। जनताको आँखामा छारो हाल्ने पनि हद हुन्छ नि। जनताले उनीहरुले केही काम गरेको देखेका छैनन्। त्यसैले राजीनामा दिन ढिलाइ भइसकेको छ।
गृहमन्त्री लामिछाने जतिबेला पनि हामीलाई काम नै गर्न दिएनन् भनिरहेका हुन्छन्। ल उनले कतिवटा प्रस्ताव मन्त्रिपरिषद्मा लगेछन् ? त्यसको जवाफ दिनुपर्यो। त्योमध्ये कतिवटा फेल र पास भए ? यो पनि सार्वजनिक गरिनुपर्यो। अनि त्यसपछि मलाई काम गर्न दिइएन् भन्दा उचित होला।
प्रस्ताव नै नलैजाने अनि हामीलाई काम गर्न दिएन् भनेर बोल्न मिल्छ ? त्योपनि मन्त्रीजस्तो व्यक्तिले । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ साहलाई आज देश–विदेशले चिन्छ ? उनको अनुहार हेरेर देश–विदेशले मनपराएको हो ? होइन्। आज सबैतिर बालेनको ‘वाहवाही’ हुनुको कारण उनको काम हो ।
उनी धेरै बोल्दैनन्। मैले यो गर्न लागेको छु भनेर उनी चिच्याइचिच्याई भन्दैन् । बालेनले टुकुचा भत्काए । कसैले भत्काउँछन् भन्ने थाहा थियो ? सुइँको नपाउनेगरी डोजर लिएर पुगे। भत्काए, पछि अदालतले रोक्यो। उनको न्यूरोड क्षेत्रमा रहेको पार्किङ्ग हटाए । फुटपाथ विस्तार गर्न खोजे।
तर, अरुले काम गरेको देख्न नसक्ने एमालेका केही तन्तु र सडक डिभिजन काठमाडौंले रोक्यो। भत्काइसकेको सडक पनि पुरिदियो। सुकुम्बासी हटाउन उनले धेरै प्रयास गरे। नगरप्रहरीले कुटाइ खाए। तर, भोटका लोभीहरुले सुकुम्बासीका नामका हुकुम्बासीलाई हटाउन दिएनन्।
बालेनको हरेक पाइलामा अवरोध छन्। उनी काम गर्न खोज्छन्, यद्यपि यताउता गरेर रोकिहाल्छन्। जे भएपनि उनले काम गर्न खोजेको सारा नेपालीले देखेका छन्।उनलाई कामको बाटोमा को–को अवरोध बनेका छन् ? यो पनि जनताले हेरिरहेका छन्। बालेनले शुरु गरेको काम पूरा नहोला तर जनतामा कोसिश त भयो’ भन्ने छ।
त्यसैले बोल्नु ठूलो कुरा होइन्, गर्नु ठूलो कुरा हो। जनतालाई बोल्ने होइन्, गर्ने नेतृत्व चाहिएको छ। रास्वपाका चार जना मन्त्रीमध्ये दुई जनाले ताली त दुई जनाले गाली खाइरहेका छन्। यसले के स्पष्ट पार्छ भने जनताले अब पार्टी होइन्, काम गर्ने नेतृत्व खोजिरहेका छन्।
काम गर्नेको तारिफ हुन्छ, नगर्नेको अर्को निर्वाचनमा धुलाई। प्रधानमन्त्री होस् या मन्त्री, पदभार ग्रहण गर्नुभन्दा अगाडि शपथ खाएका हुन्छन्। देश र जनताका लागि निर्णय गर्छु, कसैको प्रभाव र दबाबमा पर्दिन् भनेर उनीहरुले शपथ खान्छन्। आफ्नो मन्त्रालयबाट हुने काम मन्त्रीले निर्धक्क गर्न पाउँछन्।
उनले निर्णय गर्दा प्रधानमन्त्रीले हस्तक्षेप गर्न पाउँदैनन् । मन्त्रीले मन्त्रिस्तरीय निर्णय गर्न सक्छन्,सरुवाबढुवा मन्त्रीकै हातमा हुन्छ। प्रधानमन्त्रीले यो गर–त्यो नगर भन्न पाउँदैनन् । सबैले आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्नुपर्छ। गृहमन्त्री लामिछाने हिजो सञ्चारकर्मी थिए।
सञ्चारकर्मी हुँदै उनी राजनीतिमा छिरेका थिए । छोटो अवधिमा उनी गृहमन्त्री बन्न सफल भए । अब उनले काम गर्नुपर्छ । मौका दोहोर्याई–तेहेर्याइ आउँदैन्। जे होला–होला, म काम गर्छु भन्ने अठोट लिनुपर्यो । दिनमा दर्जनौं फाइल खोलिदियौं । बोल्दै नबोलि काम गर्नुपर्यो । अनि मात्र रास्वपाको पक्षमा जनता आउलान्।
लामिछानेलाई दुईपटक चितवनका जनताले निर्वाचित गरेर पठाएका हुन्। यो सानो कुरा होइन्। उनले जनताका लागि मरिमेटेर काम गर्नुपर्थ्यो । विडम्बना, गर्न सकेनन्। उनी काम गर्नभन्दा पनि धेरै समय बोल्नमा खर्चिन्छन्। जसको असर उनैलाई भइरहेको छ। त्यसको फाइदा त माओवादी र एमालेलाई भइरहेको छ ।
माओवादी र एमालेले उनलाई काम गर्न दिइरहेका छैनन्। रास्वपाको इतिहास मेटाउन खोजेका छन्। तर, उनले त यो बुझेका छैनन्। उनीमाथि अहिले सहकारी ठगीको आरोप छ। उनले भटाभटी काम गरेर देखाउन् न,जनताले त्यो कुरा बिर्सिन्छन्। जनता उनैको पक्षमा उभिन्छन्। जनताको साथ भयो भने छेक्ने र रोक्ने कोही हुँदैन्।
उनले सबै भ्रष्टाचारीलाई लगेर कोच्नुपर्यो। सरकारी सम्पत्ति दोहन गर्ने,पदको दुरुपयोग गर्ने,भ्रष्टाचार गरेको पैसा विदेशमा लगेर लुकाउने, राजश्व छल्नेलगायतलाई छोड्नुभएन्। भ्रष्टाचार गर्ने केपी ओली,प्रचण्ड होस् या शेरबहादुर देउवा कसैलाई छोड्नुभएन्। यदि काम गर्न नसक्ने हो भने गोजीमा बोकेको राजीनामा बुझाए हुन्छ।