बिप्लवको टिप्पणी:बाघलाई मासु खुवाएर कहिल्यै खुशी बनाउन सकिन्न
शेरबहादुर विश्वकर्मा
काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक बिप्लवले अर्थमन्त्री बर्षमान पुन अनन्तले एमसीसी जसरी पनि कार्यान्वयन गर्छु भन्दै अमेरिकालाई खुशी पार्न गरिरहेको प्रयास बाघलाई आफ्नो शरीरको मासु काटेर खुशी पार्छु भन्नू जस्तै भएको बताएका छन् ।बुधबार काठमाडौमा भएको सुदुरपश्चिम काठमाडौ उपत्यका जनसम्पर्क मञ्चको प्रारम्भिक भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले यस्तो टिप्पणी गरेका हुन् ।
बर्तमान सरकारका अर्थमन्त्री पुनले जसरी पनि एमसीसी कार्यान्वयन गर्छु भनेर अमेरिकालाई रिझाउने र सरकारको आयु लम्ब्याउने सपना देख्नु देशको हित बिपरितको काम भएको भन्दै महासचिव विप्लवले नेकपा र माओवादीको एकता र सहकार्यको जारी प्रक्रियालाई भाड्ने उदेश्यले बिदेशीहरुले माओवादी भित्रको एउटा समुहलाई पश्चिमा पक्षधर बनाउने प्रयास गरिरहेको समेत बताए।
नेपाल कम्युनिस्ट पार्टीले माओवादी, बामपंथी र कम्युनिस्ट शक्तिसङ्ग बिचारको आधारमा एकता गर्ने,साझा मुद्दामा सहकार्य गर्ने र कम्युनिस्ट शक्तिहरुबीच आपसी दुरी घटाउने नीति लिएको बेला यस्तो नीतिले देशको अर्थराजनीतिक संकटको निकास दिन र भुराजनीतिक चुनौती सामना गर्न महत्त्वपूर्ण भुमिका खेल्न सक्ने मानिसहरूले आशा गरेका छन्।
माओवादीले एमसीसी कार्यान्वयन गरेरै छाड्छु भन्ने कुराले एकातिर उनीहरु देशभक्त जनताबाट थप कट्दै जानेछन् भने अर्कोतिर यस्तो नीतिले बिदेशी शक्तिकेन्द्रको पासोमा उम्किनै नसक्ने गरि फस्दै जाने खतरा रहेको महासचिव विप्लवको विश्लेषण छ।
नेपालको कम्युनिस्ट आन्दोलनको बिकासमा परम्परागत प्रवृत्तिले डिस्टर्व गरेकोले यसलाई समकालीन परिस्थिति अनुसार बिकासको खाचो रहेको चर्चा गर्दै महासचिव विप्लवले एकातिर एमाले स्कुल र अर्कोतिर किरण, मोहनबिक्रमहरुको स्कुल जस्ता दुई समस्याबाट अगाडि नबढीकन नेपाली विशेषताको समाजवाद निर्माण हुन नसक्ने बिचार समेत व्यक्त गरेका छन् ।
सरकारले चालू आर्थिक बर्षका लागि प्रस्तुत गरेको बजेट कसैले पनि स्वामित्व नलिएकोले यसको कार्यान्वयन नहुने र बजेटले देशको आबश्यकता र प्रबाहलाई समेट्न नसकेको समेत बिप्लबको टिप्पणी छ।