आफ्नै पार्टी बचाउन नसक्ने प्रचण्ड,के मध्यस्थकर्ताकै भूमिकामा छन् त ?

फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, कांग्रेसभित्रको विवाद समेत मिलाइदिनुपर्ने बाध्यता रहेको जिकिर गरेका छन्।

पुराना दलको सूचीमा आफ्नो दललाई राखेका प्रचण्डले नयाँप्रति आक्रोश र कुण्ठा समेत पोखे। तर, प्रचण्डले आफूलाई अलराउन्डर सम्झिदा आफ्नै पार्टीभित्रको विवाद भने पोखिने तहमा पुगेको देखिन्छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय अंकगणितको राम्रो प्रयोग गर्नमात्रै माहिर छैनन्, उनी त सत्ता समीकरण फेरबदल गर्ने पनि उत्तिकै माहिर छन्।

३२ सिट जितेर मुलुकको नेतृत्व गरिरहेका प्रचण्ड पार्टीप्रति गिर्दो जनमतलाई केन्द्रमा राखेर काम गर्ने भन्दा पनि राजनीतिक खेलोफड्को गर्दै नेतृत्व हत्याउनेमै केन्द्रित छन् ।

 उनले आफ्नो पार्टीलाई प्रत्यक्ष निर्वाचित प्रणालीमा लैजाने धमास पनि दिने गर्छन्। माओवादी केन्द्रमा एउटा तप्का निर्वाचन भएमा धेरै कुरा मिलाउन सकिन्छ भन्नेमा केन्द्रित छ भने अर्को पक्ष प्रचण्डसँग मिलेर जाँदा पद र लाभ दुबै प्राप्त हुने आशामा देखिन्छ।

यसैको भरपुर फाइदा उठाइरहेका प्रचण्ड पछिल्लो समय फेरि अन्य दललाई मिलाउने मध्यस्तथकर्ताको रुपमा देखिन पुगेका छन्।एक कार्यक्रममा प्रचण्डले एमाले–कांग्रेसको विवाद पनि आफूले मिलाउने भूमिका खेलिरहेको दाबी गरिरहेका छन् ।

प्रचण्डले एमाले कांग्रेसको विवाद मिलाउने विषयलाई मात्रै केन्द्रमा राखेनन्, आफ्नो दललाई पुरानो दलको पगरी लगाउदै नयाँ दलले लोकतन्त्रका लागि लडेकाहरुमाथि अन्याय भएको र नयाँले सम्मान नगरेको भन्दै दुखेसो समेत पोखे ।

प्रचण्ड शान्ति प्रक्रियापछि अनेक राजनीतिक सक्रियताका साथ अघि बढिरहेका छन् । तर, उनको पार्टी सग्लो भने रहिरहन सकेन ।

त्यसपछि पार्टी एकता गर्दै नेकपा स्थापना गरेपनि सत्ता शक्ति संघर्षका कारण त्यो पनि दीर्घकालीन बन्न सकेन्। तर, पनि उनी पार्टीहरुमा देखिएको विवाद आफैले मिलाइदिने भूमिका खेल्नुपरेको सगर्व बताउदै जनयुद्धको बेला भन्दा अहिले आफू व्यस्त र जिम्मेवार बनिरहेको दाबी गरिरहेका छन् ।

के प्रचण्ड मध्यस्थकर्ताकै भूमिकामा छन् त 

प्रधानमन्त्री प्रचण्डले अरु पार्टीभित्रको विवाद मिलाइदिने दाबी गर्दै गर्दा उनले मिलाउने भन्दा पनि पार्टी विभाजन गराउने भूमिका खेलेको प्रष्ट देखिन्छ। जसको बलियो उदाहरण हो,एमालेमा आएको विभाजन।

नेकपा विभाजनपछि उनले माधव नेपालसहितका नेताहरुलाई छुट्टै पार्टी स्थापना गराउन ठूलो भूमिका खेले। माधव नेपालसहितका नेताहरुले पार्टी विभाजन गराएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि कुनै कार्यक्रममै प्रचण्डले माधव नेपालको पार्टी बनाउन आफ्नो पनि भूमिका रहेको उल्लेख गरे।

त्यसपछि पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी विभाजनमा पनि उनको भूमिका देखिन्छ। उपेन्द्रले कांग्रेससँग मिलेर सरकार निर्माण गर्ने सुईको पाएपछि प्रचण्डले उनको पार्टी विभाजन गराएर अशोक राई नेतृत्वको टोलीलाई सरकारमा ल्याएको विषय छिपेको छैन्। उसोतः माधव नेपालको पार्टी पनि फूटको डिलमै पुगेर फर्किएको देखिन्छ।

यस्ता घटना अन्य दलमा पहिले पनि देखिएका छन्। तर, प्रचण्डले दाबी गरेजस्तो मिलापको रहस्य भने खास देखिन्न।

आफ्नै पार्टी बचाउन नसक्दा के भयो 

१० वर्ष जनयुद्धपछि शान्ति प्रक्रियामा आएपश्चात मोहन वैद्य किरणको नेतृत्वमा पार्टी विभाजन भयो । वैद्यमात्रै नभई डा। बाबुराम भट्टराई पनि अलग्गिए।

बाबुराममात्रै नभई आहुति, गोपाल किराति लगायतका थुप्रै नेताहरु बाहिरिए र उनीहरुले छुट्टै पार्टी सञ्चालन गरिरहेका छन्। तर, स्थापित हुन भने उनीहरुपनि सकेका छैनन्।

पार्टी विभाजनपछि ठूलो जनमतको संकट व्यहोरिरहेका प्रचण्ड पछिल्लो समय विप्लव नेतृत्वको नेकपासँग पार्टी एकताको तयारी गरिरहेका छन् भने, बाबुराम भट्टराईबाट छुट्टिएका महिन्द्र राय यादव नेतृत्वको टोलीसँग पनि एकताको तयारी चलिरहेको छ। तर, आफ्नो पार्टी एकीकृत गर्न नसकेका प्रचण्डले अरुको पार्टीमात्रै मिलाउने जिम्मा किन र कहिलेसम्म लेलान्, यो रोचक प्रश्न बनेको छ।