कम्युनिष्ट पार्टीको पुन:र्गठनको तयारी हुँदैछः उपाध्यक्ष सापकोटा
काठमाडौं।पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुन:र्गठनको तयारी भइरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाइ बृहत वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताए।
उनले कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको दाबी गरे।
‘हिजो हामीले पुनःगठन गरेका थियौँ । त्यसलाई हामीले जोगाउन सकेनौँ । त्यो विघटन भएको छ । आज नयाँ समीकरण बनेको छ। यो नयाँ समीकरण हुँदै हामी वृहत वामपन्थी एकीकरण हुँदै कम्युनिष्ट पार्टीको पुनर्गठनतिर जाँदैछौं,’ उनले भने।
उनले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने बताए।
नेपाली जनता वामपन्थीहरुलाई रुचाउँछन् । वामपन्थीहरुलाई मन पराउँछन् मात्रै होइन, नेपाली जनता फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहन्छन्,’ उनले भने।
सापकोटाले समाजवाद भनेको गरिबी नभइ सबैका लागि समृद्धि भएको बताए।