छाउगोठमा किशोरी बलात्कृत भएको बारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

फाइल तस्वीर

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका–२ मा छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका छन्।

आइतबारको राष्ट्रियसभा बैठकमा सांसदहरूले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछानेलाई रुलिङ गरेका हुन्। उनले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको बताए।

अध्यक्ष दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै बनाएको भएपनि प्रभावकारी कार्यान्वयन हनु नसकेको बताए।

उनले भने,आज अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ,त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु। सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु।आइतबारको बैठकमा सांसदहरूले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए।