मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, मुख्य सचिवबारे छलफल हुँने
काठमाडौं। मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ। मुख्य सचिव डा। बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्धा दर्ता भएसँगै रिक्त हुन पुगेको मुख्यसचिव पदमा निमित्त तथा कायम मुकायम दिनेबारे निर्णय गर्न बैठक बस्न लागेको हो।
९ बजे बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बोलाइएको बैठकमा सहभागी हुन मन्त्रीहरू आउने क्रम जारी छ। केही बेरमा बैठक शुरु हुँदैछ।
सिंहदरवार विशेष स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलालाई नै केही समय निमित्त मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गर्न सक्नेछ।
लामो समयसम्म मुख्य सचिव पद रिक्त राख्दा निर्णय प्रक्रियामा नै असर पर्छ भनेको अवस्थामा भने केही समयलाई गड्तौलालाई नै कायम मुकायम(कामु) मुख्य सचिवको सम्भावना छ
यस पटकको मुख्य सचिव नियुक्ति गर्दा विशेष ख्याल पुर्याउनु पर्ने चर्चा राजनीतिक तथा प्रशासनिक वृत्तमा शुरु भएको छ। स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्रको गिरेको मनोबल उकास्नेदेखि अभिभावकत्व महसुस गराउनेसम्मका काम मुख्य सचिवले गर्नु पर्नेछ।
आम नागरिकको नजरमासमेत आलोचित बन्दै आएको कर्मचारीतन्त्रलाई राजनीति र नागरिकको नजरमा कामयाबी बनाई नतिजामुखी बनाउने जस्ता महत्त्वपूर्ण जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने भएकोले सुझबुझपूर्ण तवरले मात्रै नयाँ मुख्य सचिव नियुक्त हुनुपर्ने प्रशासकहरूको भनाई छ।
यसरी नियुक्ति गर्दा नेतृत्व तथा निर्णायक क्षमतालाई विशेष ध्यान दिनुपर्ने उनीहरू बताउँछन्।