भागबण्डामै रमाउँदै रास्वपा: देउवा,ओली,प्रचण्ड र नेपाल भन्दा के फरक छन् त रवि ?
काठमाडौं। भागबण्डामा विश्वास नगर्ने र सुशासन कायम गराएरै छाड्ने दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि भागशान्तिमा सक्रिय देखिन्छ। आफूले नेतृत्व गरेको मन्त्रालयमा भ्रष्टाचार नहुने र नराम्रो त गर्दै नगर्ने दाबी गरिरहेको रास्वपा पुरानै शैलीको धङधङ्गीसहित वितण्डा मच्चाउन थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी पुरानालाई फालेर नयाँलाई रोज्ने र भ्रष्टाचार गर्दै नगर्ने,अनावश्यक मोलमोलाई गर्दै नगर्ने लगायतका दाबीसहित वेथिति चिर्ने दाबी हलुङ्गो साबित हुँदै गएको देखिन्छ।
रास्वपाले नेतृत्व गरेको मन्त्रालय र मन्त्रीहरु छटपटीमा देखिन्छन्। तर,उनीहरुले गर्ने दाबी ने कतै कम देखिन्नन्। यद्यपी पार्टी सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेतृत्व गरेको मन्त्रालयमा भने आम रुपमै प्रश्न उठेको छ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले त संसदमै सहकारी प्रकरणमा छानविन गरिरहेका प्रहरी अधिकारीलाई सरुवा गरेकोदेखि अनुसन्धान प्रभावित पार्न खोजेको आरोप लगाइरहेको छ।
कांग्रेसले प्रतिपक्ष भएर यस्तो आरोप लगाएको भन्ने सार्वजनिक टिप्पणी चलिरहेपनि प्रहरी सरुवा बढुवालाई अनुमानयोग्य बनाउने घोषणा गरेको महिनादिन नबित्दै प्रहरीमा अनेक संकट ल्याउन खोजिएको छ। बजेट भाषणमा राष्ट्रपतिले प्रहरी बढुवालाई अनुमानयोग्य बनाउने घोषणा गरेका थिए।
सरकारले बजेटमै गरेको दाबी बजेट पारित नहुँदै तनावमा परेको छ। प्रहरी प्रमुख फेर्न गृहमन्त्री लामिछानेले आन्तरिक कसरत थालेपछि प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रुपमै स्पष्टीकरण दिनुप¥यो। प्रचण्डले सुरक्षा निकायका प्रमुख नफेर्ने भनेर बोलिदिए।
यसरी प्रहरी संगठनभित्र गन्जागोल मच्चाएपनि गृहमन्त्री रवि लामिछाने भने रास्वपाले सम्हालेका मन्त्रालयमा सुशासन कायम हुने र भ्रष्टाचार त हुँदै नहुने दाबी दोहोर्याइरहेका छन्।
लामिछानेले यस्तो दाबी गरेपनि प्रहरी बढुवामा देखिएको चलखेल भने सफेद रुपमै षडयन्त्रको सिकार बनेको खुलेको छ।
दुई दिने बढुवा
गृहमन्त्री रवि लामिछानेको दबाबमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल २ दिनका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) बनाइने भएका छन्।
असार १९ गते एआईजी उमेशराज जोशी उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। त्यो पद रिक्त हुने भएपछि जोशीभन्दा दुई दिनपछि अवकाशमा जान लागेका पोखरेललाई लामिछानेले बढुवा गरिदिने भएका छन्।
लामिछानेले बढुवामा मरिहत्ते गरेका पोखरेल उनका कानून व्यवसायी सुशील पन्तका आफ्ना भान्जा हुन्। उसोतः पोखरेललाई लामिछानेले बैशाखमै बढुवा गर्न चाहेका थिए। तर, एमाले अध्यक्ष केपी ओलीले नमानेपछि यो निर्णय हुन सकेको थिएन्।
बढुवा किन
गृहमन्त्री रवि लामिछानले आफ्ना कानून व्यवसायी पन्तका भान्जालाई बढुवा दिलाएर पेन्सनमा समेत योगदान गर्नेछन्। एकतह माथि पुगेका पोखरेल राजनीतिक नियुक्तिका लागि समेत योग्य बन्ने गरि काम गर्न लागिएकाले यसलाई अर्थपूर्ण ठानिएको छ। विशिष्ट श्रेणीबाट अवकासमा गए संवैधानिक नियुक्ति पाउन सकिने भएकाले पनि पोखरेल दुई दिने एआईजी बन्नेछन्।
अनुसन्धान अधिकारीको सरुवा
कास्कीको सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका नेपाल प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर मगरलाई समय नपुग्दै लामिछानेले सरुवा गरेको आरोप कांग्रेसको छ। यो विषयमा बोल्दै कांग्रेस सांसद शर्माले प्रहरी नियमावली समेत सम्झाएका छन्।
भागबण्डामा सक्रिय रास्वपा
सुशासन कायम गराउने र पार्टीमा आफन्त र परिवारवादको अन्त्य गर्ने दाबी गरेको रास्वपाले राजदूत सिफारिसमा समेत भाग पाएको छ । सत्ता समिकरणमा रास्वपाले राजदूतमा भाग पाएपछि राजदूत सिफारिस मापदण्ड नै बनाएर खुशी व्यक्त गरेको छ।
राजदूत पार्टीको हुने वा मुलुकको नेतृत्व गर्न सक्ने गरि सरकारले नै कडा मापदण्ड बनाएर आह्वान गर्ने भन्ने विषयकाबीच रास्वपाले बनाएको कार्यदल र त्यसले सिफारिस गरेको कार्यविधि पनि पछिल्लो समय रोचक विषय बनेको छ। कतिपयले त रास्वपा पनि नयाँ बोतलको पुरानो रक्सी भन्दै खिसि गर्न थालेका छन्।