जनता अब पनि राजनीतिक दलको झोले बनेर बस्दा देशको स्थिति के होला ?
अनुसा थापा
मान्छेको जीवनमा दुःखसुःख दुवै आउँछ। कसैले पहिले दुःख भोग्छन्, पछि सुःख पाउँछन् । कसैले पहिले सुःख पाउँछन्, पछि दुःख भोग्छन्। सुःख भोगेर दुःख पाएकालाई जिन्दगी काट्न धेरै कठिनाइ हुन्छ। हिजो खुट्टामा चप्पल लगाउन नसक्ने राजनीतिक दलका नेताहरुले गलत माध्यमबाट अंकुत सम्पत्ति जोडेका छन्।
सुःखी जीवन बिताइरहेका ती राजनीतिक दलका नेताहरुमाथि दुःखको बादल मडारिएको देख्न थालिएको छ । देशको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, विष्णु पौडेललगायतको जिन्दगी अब जेलमा कट्ने भनेर बजारमा व्यापक चर्चा चलेको छ।
कसैमाथि सार्वजनिक जग्गा हिनामिना गरेको आरोप छ त कसैमाथि सर्प पाल्ने नाममा भ्रष्टाचार गरेको । दोषी उम्किनुहुँदैन्, निर्दोष फस्नुहुँदैन् । सर्वसाधारणले न्यायालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभागलाई विश्वास गर्छन् । जुनसुकै अदालत होस् सरकारी, सार्वजनिक र गुठीको जग्गा सरकारको नाममा ल्याउनेगरी आदेश भइरहेको छ।
यसले गर्दा अदालतप्रतिको विश्वास झनै बढेको छ। अख्तियारले त ‘ठूल्ठूला माछा’ लाई भ्रष्टाचारमा डामिरहेको छ। पछिल्लो घडीमा मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार तातेको देखेर सर्वसाधारण मख्ख परेका छन्। अब सर्वसाधारण एउटै पर्खाइमा छन्,‘सरकारी जग्गा हिनामिना गर्नेविरुद्ध कहिले भ्रष्टाचार मुद्दा जारी होला ?
उनीहरुलाई पक्राउ गर्न अदालतले कहिले पक्राउ पूर्जी जारी गर्छ ? यो जनचासोको विषय बनेको छ । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारीको फाइल खोल्न शक्तिशाली आयोग गठन गर्ने बताएका छन् । २५ वटा फाइल खोल्ने उनको भनाइ छ । त्यसका लागि आगामी आर्थिक वर्ष २०८१–८२ मा बजेट छुट्याइएको उनले जनाएका छन् ।
सत्ताको आडमा गैरकानुनी काम गर्ने, देश खोक्रो बनाउने, भ्रष्टाचार गरेर अंकुत सम्पत्ति कमाउने, विदेशमा लगेर पैसा लुकाउने, सरकारी, सार्वजनिक र गुठीको जग्गा पैसा खाँदै व्यक्तिको नाममा दर्ता गर्नेलाई अब छोड्नुहुँदैन् । चाहे त्यो देशकै प्रधानमन्त्री किन नहोस् ? गलत गर्ने कुनै पनि हालतमा उम्किनुभएन् ।
देश बनाउने नाममा आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् । राजनीतिक दलका नेता, कर्मचारी, व्यापारीहरुले देश सर्वस्व बनाए । नेपाल भ्रष्टाचारको दलदलमा फसेको छ । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय स्तरमै नेपाल बद्नाम बनेको छ ।
अनि यस्तालाई छोड्नुहुन्छ ? न्यायालय र अख्तियारले छोडेपनि अब जनताले छोड्दैनन् । हिजो उनीहरु कहाँ जन्मिएका थिए ? कस्तो परिवारमा जन्मिएका थिए ? उनीहरुको पुख्र्यौली सम्पत्ति कति ? अहिले कति ? यो तुलना गर्ने हो भने भ्रष्टाचार गरेर ‘दूधको दूध, पानीको पानी’ भइहाल्छ ।
चप्पल लगाउने हैसियत नभएकाहरुले महल ठड्याएका छन् । चिल्ला गाडी चढेर हिँड्छन् । देश–विदेशमा पैसा लगेर राखेका छन् । बिजनेश–व्यापार केही छैन्, सम्पत्ति हेर्यो भने सात पुस्तालाई पनि बढी होला ? अनि यो भ्रष्टाचार नभएर के हो ? राजनीति गरेर कति कमाइन्छ ?
राजनीति व्यापार हो र ? पदमा पुग्दा त तलब पाइएला, नत्र त पाइँदैन् । अनि यत्रो सम्पत्ति कहाँबाट आयो ? सुरक्षाकर्मीहरुले जागिर खाने बेला म देश र जनताका लागि सधै समर्पित हुन्छु भनेर शपथ लिएका हुन्छन् । देश र जनताका लागि मर्न पनि तयार हुन्छु भनेर शपथ खाएका हुन्छन् ।
तर, सुरक्षाकर्मीले त्यसको विपरीत गरेका छन् । जसले देश बर्बाद बनाए, जनतालाई ‘मर्नु न बाँच्नु’ बनाए, तिनलाई सुरक्षा दिने ? यो जनताले तिरेको करको दुरुपयोग होइन् ? देश धितो राखेर यिनीहरुले २४ खर्ब रुपैयाँ ऋण लिइसकेका छन् । देशलाई विदेशी ऋणको दलदलमा फसाएर यिनीहरुले मोजमस्ती गरेका छन् ।
यत्रो ऋण जनताले आफ्नो लागि लिएका त होइनन् । जनताले हरेक वस्तु वा सेवाको प्रयोगमा कर तिरेका छन् । त्यतिले नपुगेर यत्रो ऋण लिएका छन् । कलिलै उमेरमा विदेश जानुपर्ने बाध्यता यिनीहरुले बनाइदिए । नागरिकता बनाउनेबित्तिकै पासपोर्ट बनाउन हिँड्नुपरेको छ ।
विवाह गर्नेबित्तिकै विदेशिनुपर्ने बाध्यता छ । आमाहरु आफ्ना दुधे बच्चा छोडेर कमाउन विदेश लागिरहेका छन् । लोकतन्त्र गणतन्त्र त यिनीहरुलाई मात्र आएकोजस्तो भएको छ । नाम जनताको, मोज राजनीतिक दलका नेता र कर्मचारीको । आज नेपाल कुन अवस्थामा छ ?
विश्वले नेपाललाई कुन नजरले हेर्छ ? यिनीहरुलाई मतलब छैन् । आफ्नो जमिनको सुरक्षा गर्न नसकेकाहरुले बाँकी भएको जमिन पनि धितो राखेर ऋण लिएका छन्। जनता मरुन् कि बाँचुन्, यिनीहरुलाई मतलब छैन् । आफ्नो धोक्रो भरेरै यिनीहरुलाई भ्याइनभ्याइ छ । जसरी हुन्छ विदेशी ऋण लिने आफ्नो सत्ता टिकाउने ।
तर, यसको विरोध कसले गर्ने ? जनता खाडीमा छन् । पेट पाल्नका लागि विदेश नगईकन भएको छैन् । यहाँ भएका त सबै कार्यकर्ता हुन् । नेताहरुले आफ्नो गलत कार्यमा साथ दिनका लागि कार्यकर्ता बनाएका छन् । कार्यकर्ता भएपछि आफने विरोधमा चुइक्क आवाज निकाल्दैन् भन्ने यिनीहरुलाई थाहा छ ।
जन्मिने बेलामा कोही पनि पार्टीको कार्यकर्ता भएर जन्मिएको थिएन् । पछि बनेको हो । कार्यकर्ताभन्दा पहिले ऊ नेपाली नागरिक हो । देशको नागरिकता लिएपछि ऐनकानुन मान्नुपर्छ । आफ्नो भूमिको संरक्षण गर्नुपर्छ । गलतको विरोधमा आवाज उठाउनुपर्छ । तर, यहाँ ठ्याक्कै त्यसको उल्टो छ ।
नेताहरुले जति गलत गरेपनि कोही चुइक्क बोल्दैनन् । किन कि सबै पार्टीका कार्यकर्ता बनेर बसेका छन् । सरकारी कर्मचारी कुनै पनि राजनीतिक दलको कार्यकर्ता बन्न पाउँदैनन् । यो कानुनमै लेखिएको छ । जनताको सेवा गर्छु भनेर जागिर खाएका सरकारी कर्मचारीले नै कानुन लत्याइरहेका छन् ।
राजनीतिक दलको झोले बन्ने, काम नगर्ने । झोले बनेपछि जे गर्दा पनि छुट हुने भएपछि बन्ने भइनै हाले । मुलुकमा लाखौं सरकारी कर्मचारी छन् । सबैले जनताले तिरको करबाट तलब खाएका छन्, लुगा लगाएका छन् । तर, कामचाँहि राजनीतिक दलको गर्छन् । देश र जनताप्रति उनीहरु अलिकति पनि जिम्मेवार देखिँदैनन् ।
जनताको अवस्था दिनप्रतिदिन नाजुक बनिरहेको छ । मुलुकमा विदेशी हस्तक्षेप बढिरहेको छ । विरोधमा बोल्ने केही नभएपछि नेताहरुको मनलाग्दी चलेको छ । हामीले जे गरेपनि कसैले चुइक्क बोल्दैनन् भन्ने नेताहरुलाई भएको छ । अब देश कसले बचाउँछ ? जनताको समस्या कसले सम्बोधन गरिदिन्छ ?
नेताहरु खानै नपाएर मर्नुपर्ने स्थिति बनेको छ। जनता निराश बनिरहेका छन् । देशमा केही गर्छुभन्दा काम गर्ने वातावरण छैन् । नेपालीले आफूसँग भएको ज्ञान र सिप अर्काको देश विकास गर्नमा प्रयोग गरिरहेका छन्। आफ्नो देश लथालिङ्ग छोडेर विदेशी मुलुकमा विकास गर्नुपर्दा नेपालीलाई कति हीनताबोध महसुश भएको होला ?
नेपाल विकासमा निरन्तर पछाडि परिरहेको छ। अझै पनि सत्ताको लुछाचुडी गर्न राजनीतिक दलहरुलाई लाज लाग्दैन् ? देश र जनताको अवस्था के छ ? थाहा छैन्। चाहिएको छ सत्ता । २००७ सालपछि पटकपटक राजनीतिक परिवर्तन भयो। तर, जनताको जीवनस्तर झनै खस्कियो।
नेपाली जनता आफ्नै देशमा श्रम गरेर खान्थे। बिहान बेलुका खानकै लागि अर्काको मुख ताक्नुपर्ने बाध्यता थिएन्। विदेश ऋण थिएन्। विदेशी हस्तक्षेप थिएन्। नेपालको भूमि कसैले मिचेका थिएनन्। तर, अहिले ठ्याक्कै त्यसको उल्टो भयो। जनताको आँखा अब पनि नखुले कहिले खुल्ने ? अब पार्टीको झोले बनेर नबसौं।