जनयुद्धले निम्ताएको विसंगतिः गाउँका जमिन बाँझै,सहरमा छैन खाली ठाउँ
रुषा थापा
अहिले भनिन्छ, ‘गाउँ रित्तियो, राजधानीमा पाइला टेक्ने ठाउँ भएन।गाउँका खेतवारी बाँझै रहँदा काठमाडौं उपत्यकासहित जिल्लाका सदरमुकामहरुमा खाली जमिन भेटिनै मुस्किल छ। ०५० सालअघि उपत्यकाभित्र खेतीयोग्य जमिन प्रशस्तै थियो।
जताततै खेतको फाँट वा बारीको पाँटो थियो । त्यतिबेला आनाको दश हजारदेखि पचास हजारसम्ममा जग्गा किन्नुस् भन्दा समेत कोही किन्दैन्थ्यो । मानिसहरु भन्थे, ‘यहाँ जग्गा किनेर के गर्नु ?। ०५० सालमा उपत्यकाभित्रैका खेतबारीमा धान, मकै, कोदोलगायत खाद्यान्न फलिरहेको देखिन्थ्यो । सो समयमा जग्गा प्लाटिङ वा खण्डीकरण हुदैंन्थ्यो।
बाहिरी जिल्लाबाट राजधानीमा कमाउन आएकाहरु पनि आफ्नो गाउँघर आउजाउ गरिरहन्थ्यो । यहाँ कमाएको पैसा गाउँ लग्थे । अनि गाउँमा घर बनाउनेदेखि गोरु, भैंसी वा खेतबारी किन्ने, छोराछोरीको बिहे गर्नेजस्ता काम गर्थे । त्यतिबेला सबैलाई आफ्नै गाउँघर प्यारो थियो । कमाउनेको लागि सहर आउँथे तर गाउँघर गइरहन्थे।
आफ्नो जन्मथलो छोड्नुहन्न, धर्म, संस्कृति बिर्सनुहुन्न, बाउबाजेको सम्पत्ति बेच्नुहुन्न वा खेतबारी बाँझो राख्नुहुन्न भन्ने त्यतिबेला मान्यता थियो। त्यतिखेर धेरै जिल्लामा बत्ती, सडक, विद्यालय, अस्पताल थिएन । तैपनि मानिसहरु आफ्नो गाउँ छोड्न तयार थिएनन् । बरु उनीहरु टुक्री बत्ती बालेर बस्थे।
यातायात सुविधा नभएपनि डोकोमा बिरामी बोकेर सहरमा उपचारका लागि ल्याउन्थे । गाउँमा सेवासुविधा केही नभएपनि त्यतिबेला मानिसहरुलाई आफ्रनै जन्मथलो प्यारो थियो । आफ्नो जन्मथलो छोड्नुहुन्न भन्ने मानिसहरुको सोचाई थियो । गाउँमा मकै, कोदोको ढिलो खाएर भएपनि मानिसहरुले जीविकोपार्जन गर्थे ।
कसैलाई दुःखसुख परेमा गाउँभरका मानिसहरु एकजुट हुन्थे । कसैको घरमा बिहे भएमा गाउँभर हल्ला चल्थ्यो । गाउँघरका मानिसहरु बिहेमा सामेल हुन्थे र रमाउँन्थे । त्यस्तै, कसैको घरमा कोही बितेमा गाउँघर शोक हुन्थे । त्यतिबेला मानिसहरु एकअर्काको दुःख र सुखमा गाभिन्थे । कसैलाई पनि धनसम्पत्तिको लोभ थिएन ।
खुशी नै सबैभन्दा ठूलो थियो। गाउँमा जे उत्पादन हुन्थ्यो, त्यँही खाएर मानिसहरु बाँचिरहेका थिए । अहिलेजस्तो मोबाइल कसैको पनि हातमा थिएन र कसैलाई आवश्यक पनि थिएन। अहिले पनि बाटोमा कुकुरहरु यत्तिकै भेटिन्छन् । तर, ती कुकुरहरु आफ्नो टोल वा बसिरहेको ठाउँबाहेक अन्य ठाउँ जादैंनन्। कुकुरहरु पनि नयाँ मान्छे वा कुकुर देख्नासाथ भुक्न थाल्छन् । एउटा कुकुरलाई समेत आफु बसेको वा जन्मेको ठाउँ यति प्यारो हुन्छ भने हामी त मानव हौं।
०५२ फागुल्न १ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शुरु गरे। जनयुद्धका क्रममा माओवादीहरु गाउँ पसे । माओवादीका कार्यकर्ताहरुले गाउँमा कब्जा जमाए । त्यसपछि चन्दा उठाउन थाले । चन्दा नदिनेलाई कि त माओवादी लाग्न बाध्य बनाए त कि मारिदिए । यता, सरकारी कर्मचारीहरुलाई पनि यस्तै गरियो।
चन्दा नदिए वा माओवादीमा नलागे मार्ने धम्की दिइन्थो । माओवादीको आंतक बढ्दै गएपछि गाउँमा मानिसहरु त्रसित हुन थाले । गाउँमा बस्ने स्थिति रहेन । गाउँमा माओवादी आंतकसँगै सरकारको समेत दबदबाब चल्यो । एकातिर माओवादी ज्यान मार्ने धम्की दिँदै चन्दा उठाउने अनि चन्दा दिएको भन्दै तत्कालिन सरकारबाट खटाइएको सुरक्षाकर्मीले कारबाही गर्ने ।
माओवादी र सरकारबाट खटाइएको सुरक्षाकर्मीबाट थुप्रै सर्वसाधारणले ज्यान गुमाए । राज्यको चौथो अंग मानिने सञ्चारकर्मीलाई समेत माओवादी वा सरकार पक्षमा समाचार लेखेको भन्दै मारियो । माओवादी र सरकारबीचको लडाईमा जनता पिसिए । त्यो पनि विशेषगरी गाउँका सर्वसाधारण । अनि सबैतिरबाट दुःख दिने काम हुन थालेपछि गाउँका जनताले विकल्प खोजे ।
गाउँको विकल्प थियो, जिल्लाको सदरमुकाम या राजधानी । गाउँमा भएका आफ्ना घरजग्गा त्यत्तिकै छोडेर मानिसहरु जिल्लाको सदरमुकाम वा राजधानी बस्न आइपुगे । गाउँ फर्किने बाटो नभएपछि पैसा भएकाहरुले उपत्यका वा सदरमुकाममै घडेरी किने । माओवादी र सुरक्षाकर्मीले नलखेटेको भए त्यो पैसाले मानिसहरुले आफ्रनै गाउँमै घडेरी किन्थे ।
तर, गाउँमा बस्ने स्थिति नरहेपछि मानिसहरुले अन्य जिल्लामा गएर घडेरी किने । त्यो पनि उपत्यकासहित जिल्लाको सदरमुकाममा । यसरी गाउँको जमिन बाँझै रहिरहँदा उपत्यका र सदरमुकाममा जग्गाको मूल्य हवात्तै बढ्यो । सोही बेलामा दलालीहरुको पनि उत्पत्ति हुन पुग्यो । तिनीहरुले जग्गा खण्डीकरण शुरु गरे । अनि रोपनीको पचास हजारमा बिक्री नभएको जग्गा आनाकै लाखौंमा खरिदबिक्री भयो ।
यसले महंगोमा जग्गा किन्ने चुलुम्मै डुबे त अर्कोतिर उपत्यकासहित देशभर खेतीयोग्य जमिन मासिँदै गयो । यता, दलालीहरु भने मोटाउँदै गए । यति मात्र होइन दलालीहरुले उपत्यकाभित्र वा सदरमुकामको डाँडाकाँडामा समेत डोजर चलाए । उता, यहाँका स्थानीय बासिन्दाहरुले पनि आनाको पाँच हजार नआउने जमिनको लाख आउने भएपछि धमाधम जग्गा बेचे ।
जग्गा बेच्नेहरुले त आएको पैसाले जाँडरक्सी खाएर मोजमस्ती गरे । जाँडकै कारण कतिपयले ज्यानै समेत गुमाए । तर, दलालीहरुले भने भरपूर्ण फाइदा उठाए । दलालीहरुले रोपनीका रोपनी जग्गा किने । अनि खण्डीकरण शुरु गरे । एक रोपनी जग्गामा १६ आना हुन्छ । रोपनीको लाखमा किनेर खण्डीकरण गरी दलालीहरुले आनाकै १५ लाखदेखि ३० लाखसम्ममा बेच्न थाले ।
कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको हो । यी बैंकहरु पहिल्यै स्थापना भएका थिए । सरकारी बैंकमा बचत गर्दा थोरै ब्याज पाइन्थ्यो । तर, ०४८ सालपछि प्राइभेट बैंक, सहकारी, लघुवित्त, फाइनान्स हवात्तै खुले । यीनीहरुले बचतको महंगो ब्याज दिने प्रलोभन देखाएर सर्वसाधारणबाट पैसा उठाए । पैसा तान्ने ब्यज बढी दिनेको होडबाजी नै चल्यो ।
यतिमात्र होइन बुढाबुढीलाई लौरो दिनेदेखि जन्मदिनमा केक काटिदिने र खाता खोल्नासाथ निःशुल्क बीमा भइहाल्नेजस्ता कार्यक्रम ल्याए । प्रलोभनमा परेपछि सर्वसाधारणले आफुसँग भएको पैसा प्राइभेट बैंक, सहकारी, लघुवित्त, फाइनान्समा जम्मा गरे । फेरि यी संस्थाहरुले सबै कर्जा घरजग्गा, गाडी र सेयरमा गरे । बैंकले सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले ३५ सय पुर्याए ।
छिमेकी देशहरुमा एक लाखमा पाइने गाडी यहाँ ल्याएर ३०÷३५ लाखमा बेचियो । व्यक्ति होस् या वित्तिय संस्थाले आफुसँग भएको पैसा यीनै तीन क्षेत्रमा लगानी गरे। बजारमा केही वर्ष भइसक्यो घरजग्गा, गाडी र सेयरमा मन्दी आएको । यता, सटर, कोठा र फ्ल्याटहरु पनि खाली हुँदै गएका छन् । महंगोमा घरजग्गा, गाडी र सेयर किन्नेहरु चुलुम्मै डुबेका छन्।
उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । सहकारीले पनि करोडौं बचतकर्ताको खर्बौ रकम डुबाइदिएको छ । प्राइभेट बैंकहरुमा बचतकर्ताहरुको रकम असुरक्षित बन्दै गएको छ । बैंककै कर्मचारीहरुले बचतकर्ताको रकम हिनामिना वा चोरी गरेको घटना बाहिरिएका छन् । २०८० साउन ३० गतेको मन्त्रिपरिषद् बैंकले जग्गाको कित्ताकाट फुकुवा गर्यो ।
सेयरमा लगाइएको १२ करोडको सीमा पनि हटाइयो । गाडीलाई ५० प्रतिशत कर्जा दिने गरिएकोमा ८० प्रतिशत पुर्याइएको छ । घरजग्गा, गाडी र सेयरमा खुकुलो नीति बनाएसँगै अहिले यी क्षेत्रमा लगानी गर्ने कोही छैन । माओवादी शान्ति वार्तामा आएको पनि १८ वर्ष भइसक्यो ।
माओवादी शान्ति वार्तामा आएसँगै माओवादीकै नेता तथा कार्यकर्ताहरुले घरजग्गा, गाडी र सेयरमा लगानी गर्न शुरु गरेका हुन् । माओवादीले विगतमा लखेटेका जनता पनि घर फर्किएनन् । यता, नेता, कार्यकर्ताहरु पनि गाउँ फर्किएनन् । यसले गाउँ झन्झन् रित्तिँदै गयो । गाउँको घर भत्किँदै गयो त जग्गा झनै बाँझो रह्यो ।
यहाँ पैसा हुने अर्थात् नेता, सरकारी कर्मचारी, व्यापारीका छोराछोरीहरु पढ्ने नाममा अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुक पलायन भए । उनीहरुले पढ्ने नाममा शुरुमै तिसौं लाख लगे । गरिबका छोराछोरी कमाउन खाडी पुगे । कोही विदेश पलायन हुने त कोही शहरमै बस्ने भएपछि गाउँ रित्तियो अनि उपत्यका भरियो।
अहिले पनि मानिसहरु आफ्नो जन्मथलो फर्किएका छन् । यहाँ एउटै कोठाको पाँच हजारदेखि २० हजार तिरेर बसिरहेका छन् । एउटा सटरको ३० हजारदेखि १८ लाख तिरेर व्यापारव्यवसाय गरिरहेका छन् । एक फ्ल्याटको ३० हजारदेखि दुई लाखसम्म तिर्छन् । यहाँ खाली सटर २० लाखदेखि ५० लाखमा किनबेच हुने गरेको छ।
सहर महँगिदै गएपनि मानिसहरु यँही बसेका छन् । कोही पनि आफ्नो पुख्र्यौली घर फर्किएका छैनन्। माओवादीका नेताहरुको त जीवन परिवर्तन भयो तर गाउँमा जुन परिवर्तन गछौं भनेर माओवादीले जनयुद्ध शुरु गरेको थियो । त्यस्तो केही भएन । अहिले गाउँ झनै अविकसित बनेको छ।
किनकि गाउँका जनता सबै सहरमा छन् । गाउँका खेतबारी बाँझो छ । तर, हामी विदेशबाट खाद्यान्न आयात गरेर खान बाध्य गछौं। अनि जनयुद्धले देश र जनतालाई के फाइदा भयो ? १७ हजार नेपालीले आफ्नो ज्यान गुमाएको गाउँ रित्तिन हो र ?
हिजो जनयुद्ध शुरु गर्दा माओवादी कमाण्डर प्रचण्ड नै थिए र अहिले मुलुकको प्रधानमन्त्री पनि उनै छन्। तर, जनयुद्धले के चाँहे परिवर्तन ल्यायो, प्रधानमन्त्रीज्यु ?