पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ: महासचिव विप्लव

फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन्।

शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै चन्दले पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन् भन्नेमा कम्युनिस्टहरू सबै सहमत रहेको बताएका हुन्।

उनले मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिस्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रूपमा नेपालमा धेरै कम्युनिस्ट पार्टीहरू रहेको जिकिर गरे। उनले सामन्तवादको विरुद्धमा सङ्घर्ष र साम्राज्यवादी शक्तिहरू विरुद्धको सङ्घर्षमा पुष्पलालले आफ्नो जीवन व्यतीत गरेको बताए।

उनले भने,मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिस्ट पार्टीको जन्म भयो। त्यो कम्युनिस्ट पार्टीका सन्तानका रूपमा आज नेपालमा लाखौँ, लाख श्रमिक जनता खडा छन्,यो पुष्पलालको विशेष योगदान हो। पुष्पलालले दुई वटा प्रवृत्तिको विरुद्धमा निरन्तर सङ्घर्ष गर्नुभएको छ। त्यो नेपालको राजनीतिमा कहिल्यै नबिर्सिने कुरामा रहन्छ।

खास गरी सामन्तवादको विरुद्धमा सङ्घर्ष र साम्राज्यवादी शक्तिहरू विरुद्धको सङ्घर्ष यो दुई वटा सङ्घर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ।

वैचारिक सङ्घर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झन्डा उठाउनुभएको छ र लड्नुभएको छ। पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौँ । पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ।