साधारण व्यक्तिकै घरमा करोडौं, नेता,कर्मचारी र व्यापारीको घरमा कति होला ?
रुषा थापा
करिब तीन वर्षअघि बजारमा मन्दी निम्तियो । त्यतिखेरै पाँच हजार र हजारको नोट लुकाइएको पनि कुरा बाहिरिएको थियो। बजार पूरै मन्दीमा गएपछि सडकदेखि सदनसम्म पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन आवाज समेत उठेको थियो । यद्यपि, सरकारले यी नोटमा प्रतिबन्ध लगाएन।
उल्टै बजार मन्दीमा रहेको पनि सरकार पक्ष स्वीकार्न तयार भएको थिएन। अर्थ मन्त्रालय र राष्ट्र बैंकले बजारमा गएका कति पैसा बैंक, वित्तिय संस्थामा जम्मा भयो र कति घरमै लुकाइयो ? भनेर खोजतलास गरेन। यसप्रति सरकारी निकायले चासो नै देखाएनन्। राष्ट्र बैंक जहिल्यै बैंकमा पैसा थुप्रियो मात्र भनिरह्यो।
केही दिनअघि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर, ४ दधिकोटस्थित एक व्यक्तिको घरमा दुई करोड रुपैयाँ चोरिएको घटना बाहिरियो । चोरी आरोपमा चार जनालाई प्रहरीले समातिसकेको छ। यो घटनाले नै मानिसहरुले पैसा घरमा लुकाइएको प्रमाणित गरिसकेको छ । अब सरकार के गर्छ ? अझै पनि सर्वसाधारणलाई भ्रममा पारिरहन्छ, सरकार !
यदि त्यो दुई करोड नचोरिएको भए यो घटना बाहिर आउँदैन्थ्यो । न त एउटै मानिसको घरमा यत्रो पैसा रहेको कसैलाई थाहा हुन्थ्यो । रोचक कुरा त राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा पैसा थुप्रियो भनेर भनिरहँदा एउटै व्यक्तिको घरमा यति धेरै पैसा रहेको खुलासा हुनुले राष्ट्र बैंकले आम नागरिकमा भ्रम मात्र सिर्जना गरेको पनि सावित भएको छ ।
पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन सदनमा समेत आवाज उठिसक्यो । केही दिनअघि मात्र नेपाली कांग्रेसका सांसद धनराज गुरुङले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेका थिए । सरकारले तत्काल यो नोटमा प्रतिबन्ध नलगाए देशको अर्थ व्यवस्था झनै संकटमा पर्ने उनको भनाइ थियो ।
जनताबाट चुनिएर आएका जनप्रतिनिधि अर्थात् सांसदले उठाएको कुराको जवाफ दिन सभामुखले सरकारलाई रुलिङ गर्नैपर्छ । र, यसको जवाफ प्रधानमन्त्री वा अर्थमन्त्रीले दिनुपर्छ । अहिले सर्वसाधारण भन्छन्, ‘सबैभन्दा धेरै पैसा राजनीतिक दलका नेतासँगै छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित केपीशर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपालले खर्बौ रकम थुपारेर राखेको सर्वसाधारणको आरोप छ।
नभए किन यीनीहरु पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउदैन,’ आम जनता भन्छन् । अर्कोतर्फ एउटा साधारण व्यक्तिकै घरमा करोडौं भेटिन्छ भने नेताहरुको घरमा कति होला ? अहिले बजार पूरै मन्दीमा छ । व्यापारव्यवसाय ठप्प छ । घरजग्गा, गाडी र सेयरको किनबेच छैन । सहकारी सबै डुबिसके । लघुवित्त, फायनान्सहरु पनि डुबिसकेका छन् ।
अहिले बैंकमा समेत समस्या निम्तिएको छ । वास्तवमा बैंकमा पैसा नै छैन । तर, राष्ट्र बैंक यो कुरा बाहिरिन नदिन बैंकमा पैसा थुप्रियो मात्र भन्छ । प्रधानमन्त्री, अर्थमन्त्री र गर्भनर जिम्मेवार भएनन् । सबैलाई आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्यो । त्यसमाथि अर्थको विषयमा केही थाहै नभएको व्यक्तिलाई समग्र मुलुकको अर्थ व्यवस्था चलाउने जिम्मेवारी दिएपछि कसरी अर्थतन्त्रमा सुधार आउँछ ?
अहिले अर्थमन्त्री वर्षमान पुनले तत्काल एउटा निर्णय मन्त्रिपरिषद्मा लैजान आवश्यक छ । उनले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट निकाल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ । मन्त्रिपरिषद्ले यो निर्णय गरेमा अहिले बजारमा रहेको मन्दी एकाएक हट्ने छ । अर्कोतर्फ कर्मचारी, नेता, व्यापारी, सर्वसाधारणहरुले समेत घरमा लुकाएको पैसा बाहिरिनेछ ।
प्राइभेट बैंकबाट जनताको विश्वास गुमेको छ । बैंककै कर्मचारीहरुले बचतकर्ताको रकम हिनामिना वा चोरी गरेको घटना बाहिरिएपछि अहिले प्राइभेट बैंकहरुमा बचत गर्ने र कर्जा लिने कोही छैन । यता, सरकारी बैंकमा दश लाखभन्दा बढी रकम राख्दा स्रोत खुलाउनुपर्छ । स्रोत नखुलाए त्यो रकम गैरकानूनी हुन्छ । अनि स्रोत खुलाउन केही नभएपछि मानिसहरुले आफुसँग भएको रकम घरमै लुकाएका हुन् ।
पैसा जति लगानी भयो, त्यति नै बजार चलायमान हुने हो । तर, पैसा सबै घरमा लुकाएपछि कसरी बजार चलायमान हुन्छ । उदाहरणका लागि मानिससँग पचास लाख छ । यदि त्यो पैसाले उसले पसल खोल्छ भने त्यसबाट रोजगारी सिर्जना हुन्छ अनि राज्यले पनि राजस्व पाउँछ । यति मात्र होइन त्यँही पैसा उसले बैंकमा राख्यो भनेपनि बैंकले त्यो पैसा विभिन्न क्षेत्रमा लगानी गर्छ । डिपोजिटकर्ताले समेत ब्याज पाउँछ ।
तर, बैंकमाथि विश्वास नरहँदा र डुब्ने त्रासले लगानी पनि नगरेपछि मानिसहरुले घरमै पैसा लुकाए । अनि त्यो पैसा घरमै फिज हुन पुगेको छ । अब मानिसले घरमै पैसा लुकाएपछि न त्यसबाट रोजगारी सिर्जना हुन्छ न त राज्यले राजस्व नै पाउँछ । यसैले, अहिले बजार चलायमान हुन नसकेको हो । बजारमा नयाँ लगानीकर्ता छैनन् । भएका पुराना पनि पलायन हुँदै गएका छन् ।
अहिले कपडा पसल, होटल, रेस्टुरेन्टहरुमा व्यापार छैन । तर, सुन पसलमा भने मानिसहरुको भीड लागेको देखिन्छ । किनकि मानिसहरुले घरमा लुकाएको पैसा सुनमा लगानी गर्न थालेका छन् । सुन किनेर ल्याउँछन् अनि घरमै लुकाएर राख्छन् । यद्यपि, सुनबाट जनता र राज्यलाई केही फाइदा छैन । यसले सीमित सुन व्यापारीलाई मात्र फाइदा पुगिरहेको छ ।
हिजो नाफा हुने लोभमा महंगोमा घरजग्गा, गाडी र सेयर किन्नेहरु अहिले चुलुम्मै डुबेका छन् । यसरी नै अहिले सुनमा लगानी गर्नेहरु पनि पछि डुब्ने छन् । जिम्मेवार पदमाबसेपछि जिम्मेवार कुरा गर्नुपर्छ । अहिले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी अर्थतन्त्र ठिकठाक रहेको दाबी गर्छन् । तर, अर्थतन्त्र साँच्चिकै ठिक छ भनेर किन नेपाल व्यापार घाटामा छ । किन विदेशी ऋण बढ्दै गएको छ ?
किन बजारमा तीन वर्षअघिजस्तो चहलपहल छैन ? किन राष्ट्र बैंकको खुकुलो नीतिका बाबजुद घरजग्गा, गाडी र सेयरको कारोबार बढ्न सकिरहेको छैन ? किन बजारमा कोठा, सटर र फ्ल्याटहरु खाली हुँदै गएका छन् ? किन व्यापारीहरु पलायन भइरहेका छन् ? किन नेपाली युवाहरु कामको खोजीमा विदेशिरहेका छन् ? अब यसको जवाफ सम्बिन्धत निकायले दिनैपर्छ ।
महालेखा परीक्षकको कार्यालय भन्छ, ‘सरकारको आम्दानीभन्दा खर्च दोब्बर भयो ।’ नेपाल सरकारले विदेशीसँग मात्र २७ खर्ब ऋण लिइसकेको छ । अहिले एकै नेपालीको टाउकोमा लाखौं विदेशी ऋणको भार छ । देशको आर्थिक अवस्था निकै कमजोर भइसक्यो । जनता खाना नपाएर आत्महत्या गरिरहेका छन् । तर, सरकारी कर्मचारीहरु तलब सुविधा बढाउनुपर्यो भन्दै आन्दोलन गर्छन् ।
कर्मचारीहरु अन्धो छन् । उनीहरुले देश र जनताको अवस्था देखेका छैनन् । अर्को वर्ष अर्थतन्त्र अझै नाजुक अवस्थामा पुग्ने अहिले आम नागरिक बताउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग एक्सनमा जाने हिम्मत छैन । अर्थमन्त्री वर्षमान पुन पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान सक्दैनन् ।
बुढोपाकाले भन्थे, ‘कि अरुले काम गरेको देखेर सिक्नु कि आफैं गर्न सिक्नु ।’ प्रचण्ड प्रधानमन्त्री बनेपछि पटकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न भारत पुगे । बिडम्वना, उनले भारतले कब्जा गरेको नेपाली भूभाग मोदीसाग कुरा गरेर फिर्ता समेत ल्याउन सकेनन् ।
भारतले २०७३ सालमै भारतीय नोट पाँच सय र हजारमा प्रतिबन्ध लगाएको हो । अहिले नेपालमा देखिएकोजस्तो आर्थिक संकट त्यसबेला भारतमा पनि देखा परेको थियो । र, भारत सरकारले तत्काल यस्तो निर्णय गरी कार्यान्वयनमा ल्यायो । अहिले भारतको अर्थतन्त्र ठिकठाक छ ।
तर, प्रधानमन्त्री प्रचण्डले भारतको यो राम्रो काम पनि सिक्न गरेनन् । उनी जनताले तिरेको करमा भारत भ्रमण गर्न त पटकपटक भए तर उपलब्धि केही हासिल भएको छैन । मोदीसँग फोटो मात्र खिचेर आए । अहिले प्रधानमन्त्री प्रचण्डसँग देश र जनताको लागि काम गर्ने क्षमता नै भएको सर्वसाधारण नै भन्छन् ।