पहिराले बेनी–जोमसोम सडकमा यातायातसेवा प्रभावित

काठमाडौं। म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षात्सँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित बनेको छ।
सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकमा दैनिकजसो यातायातका साधन आवतजावत बन्द हुन थालेको हो।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटक घन्टौँसम्म जाममा पर्ने गरेका अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए।
मुस्ताङको थासाङ गाउँपालिका–४ लेतेका सोमविर परियारले बैसरीमा पहिरो खसिरहने र सडक अवरुद्ध हुने समस्याले यात्रुलाई समयमा गन्तव्यमा पुग्न समस्या भएको बताए।