नयाँ बन्ने सरकारले सहकारी र सीमा विवाद सुल्झाउँछ कि सुल्झाउँदैन: नेता रावल

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका नेता डा.भीम रावलले अहिले बन्न लागेको सरकारले सीमा समस्या तथा सहकारी प्रकरणलगायतका समस्या समाधान गरोस् भन्ने आफूले चाहेको बताएका छन्।

यो सरकार हटाएर नयाँ सरकार किन र कसका लागि बनिरहेको छ भन्ने आफूलाई थाह नभए पनि यो सरकार राष्ट्रिय हितमा बन्न लागेको हो भने सहकारी प्रकरण र सीमा समस्याहरू सुल्झाउनु पर्ने उनले बताएका हुन्।

राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सहकारी रकम अपचलन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सहकारी ठगी प्रकरणसँग राजनीतिक चरित्रसँग जोडिएको बताउँदै राजनीतिक चरित्र सुधार गरेपछि सहकारी प्रकरण आफै सुधार हुने टिप्पणी गरे।

सहकारी प्रकरणमा ठुला–ठुला राजनीतिक दलका नेताहरूको नाम मुछिएको छ। त्यसले नै राजनीति चरित्र प्रस्ट भएको छ,उनले सुनकण्ड, नक्कली भुटानी शरणार्थी, सहकारी प्रकरण जस्ता कार्यहरू यसैको उपज रहेको बताए।

उनले अहिलेको नयाँ गठबन्धनले ल्याएको राष्ट्रिय सहमतिको सरकारको अवधारणामाथि पनि टिप्पणी गरे। उनले संविधानको कुनै पनि धारामा राष्ट्रिय सहमतिको सरकारको कुरा उल्लेख नभएको भन्दै यो संविधान विपरीत कार्य भइरहेको बताए।

अहिलेका राजनीति दलको न कुनै सिद्धान्त, न कुनै विचार देखिएको छ। विपरीत सिद्धान्तको पार्टीहरू एक ठाउँमा आएका छन्। यो कस्तो गठबन्धन हो? उनले प्रश्न गरे, चुनावबाट कसैको बहुमत नआएको कारणले यो गठबन्धन बनाउनु परेको भनेका छन्।

यो जतिको लज्जास्पद कुरा अरू के हुनसक्छ? चुनाव लड्ने गठबन्धन बनाएर अनि बहुमत आएन भनेर कसरी भन्न सकेको होला? उनले मार्क्सवादीहरूले आफ्नो नाम परिवर्तन गरेर अवसरखोज दल सत्तावादी पार्टी नाम राख्न पनि सुझाव दिए।