संसद बैठक बस्दै, यी हुन् छलफलका सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बैठक बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ।

त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।