नेताहरु सत्ताको खेलमा, जनता बिहानैदेखि भट्टी पसलमा

नेपालको कानुनमा घरेलु मदिरा बिक्री वितरण गर्न र जुवातास खेल्न रोक लगाइएको छ । तर, होटल व्यवसायीहरुले कानुनलाई नै धोती लगाइदिएका छन् । स–साना होटलमा घरेलु मदिरा बेच्न राखिएको हुन्छ । ठूल्ठूला होटल–रेष्टुरेण्टमा जुवातास खेलाइन्छ । बुढापाकाको जुवातास र रक्सीलाई लिएर एउटा व्यवहारिक भनाइ छ।

होटलवालाले पैसा नभएपनि रक्सी दिइहाल्छ, साथीभाइले जुवातास खेल्न पैसा सापटी दिइहाल्छन् । तर, उपचार गर्नुपर्यो, छोराछोरी पढाउनुपर्यो भने कसैले सापटी दिँदैनन् । झन् नेपालीसँग कसले भ्याओस् ? घरजग्गा दाउमा राखेर रक्सी खान्छन्, जुवातास खेल्छन्। पछिल्ला वर्ष रक्सी खाने र जुवातास खेल्नेको संख्या बढेको छ।

भट्टी पसलमा बिहानैदेखि मान्छेहरु रक्सी खान बसेको देखिन्छ । पसलेलाई त कमाउनसँग मतलब छ। अर्का सुकुम्बासी भएपनि तिनलाई के मतलब ? रक्सी चामल, कोदो, मकैलगायतका अन्नबाट बनाउनुपर्ने हो । तर, कमाउनका लागि जे पनि गर्न थालियो । रासायनिक मल, जुत्ता, थाङ्ना, राँगाभैसीको हड्डी मिसाएर रक्सी बनाएको सुन्नमा आउन थालेको छ ।

यस्तो रक्सीले मानव स्वास्थ्यमा कति असर पार्छ ? सरकारले नियमन गरेको छैन् । रक्सी खाने मान्छेको पैसा पनि सिद्धिएको छ, ज्यान पनि । उसको घर परिवार पनि लथालिङ्ग हुन्छ । दिनहुँ झैझगडा हुन्छ । बालबच्चाले पढ्न पाउँदैनन् । सरकारले भट्टी पसलहरुको अनुगमन गरेको पाइँदैन्। ती पसलहरु दर्ता बिनै सञ्चालनमा छन्।

एउटा सटर लियो, टेबलकुर्सी राख्यो, पर्दाले बार्यो अनि बिहानैदेखि रक्सी बेच्यो । बिहान कुखुरा बाँस्न पाएको हुँदैन्, यिनीहरुको धन्दा शुरु भइसकेको हुन्छ। सरकारले यस्ता पसल कति बजेदेखि खोल्ने ? कति बजे बन्द गर्ने ? कुनै नियम बनाएको छैन् । पछिल्लो समय मान्छेहरु बिहानैदेखि भट्टी पसलमा देखिन्छन्।

बिहानैदेखि रक्सी खानुपर्ने के अवस्था आइलाग्यो ? सरकारलाई चासो छैन् । आर्थिक मन्दीका कारण धेरै व्यापार व्यवसाय डुबेको छ । त्यही तनावले गरेर बिहानैदेखि रक्सी खान थालिएको छ । रक्सी खाने, बाटोमै सुत्ने क्रम बढेको छ । मजदुरी गर्नेहरु त जतिबेला पनि भट्टीमै हुन्छन् ।

गोजीमा पैसा होस् कि नहोस्, रक्सी खानै परेको छ । भट्टी पसलेपनि उधारो दिन्छन् । सबैको दुःख भुलाउने माध्यम भट्टी पसल बनेको छ । बेरोजगार पनि भट्टी पसलमा, व्यापार व्यवसायमा डुबेका पनि । घरजग्गा व्यवसायीहरुले पनि आफ्नो पीडा भुलाउने ठाउँ बनाएका छन्, भट्टी पसल ।

आफू डुबे भनेर कामै नगर्ने अनि भएको पैसा पनि भट्टी पसलमा सकाउने । भोलि उसको र उसको परिवारको अवस्था के हुन्छ ? डुब्ने डुबिहाल्यो, काम गरौं भन्ने त सोचै छैन् । यो समस्या भोग्नेको संख्या ह्वात्तै बढ्यो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडा र जनार्दन शर्माले सेयर जुवा हो ।

जुवा खेल्नेको घरखेत नै जान सक्छ भनेर उनीहरुले पहिले नै जनतालाई सूचित गराएका थिए । एकदिन मार्छ, अर्कोदिन मर्छ सेयरमा । सेयरमा बाजी मरेको दिन पनि भट्टी पसलमा, बाजी हारेको दिन पनि भट्टी पसलमा । सेयरमा ५० देखि ५५ जना ठूला सेयर दलाल छन् ।

उनीहरुले ६५ लाखलाई नचाइरहेका छन् । सेयरको मूल्य बढाउने र घटाउने उनीहरु हुन् । सेयर प्रतिकित्ता एक सय रुपैयाँमा निकालिएको हुन्छ । तर, ३५ सय सम्म पुर्याइयो । अहिल सेयरको मूल्यमा व्यापक गिरावट देखिएको छ । मूल्य घटेर १७ सयमा आएको छ । सेयरमा लगानी गर्नेहरु त सिद्धिए ।

लगानीकर्ताहरुले दलालको रणनीति नै बुझ्न सकेनन् । अहिले सेयरको मूल्य घटाउँछन् र किन्छन् । भोलि फेरि मूल्य बढाएर बेच्छन् । फस्ने कोभन्दा सीधासाधी लगानीकर्ता । सेयर बजार केही दलालको मुठ्ठीमा छ । नेकपा एमाले र नेपाली काँग्रेसबीच सत्ता सहकार्यको सहमति भएको छ ।

जसअनुरुप एमाले सत्ताबाट बाहिरिएको छ । बजारमा अहिले एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने खुब चर्चा छ । त्यही भनेर सेयर दलालहरुले सेयरको मूल्य बढाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने बताएका छन् । उनले असार २८ गते सदनबाट विश्वासको मत लिँदैछन् ।

प्रचण्डले विश्वासको मत नपाउनेबित्तिकै राष्ट्रपतिले पहिलो दल जुन छ, त्यहीबाट प्रधानमन्त्री नियुक्ति गर्नुपर्छ । गत प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट काँग्रेस पहिलो दल बनेको छ । काँग्रेससँग सांसदको संख्या ८९ छ । प्रचण्डले विश्वासको मत नपाउनेबित्तिकै राष्ट्रपतिले काँग्रेसलाई सरकार बनाउन आह्वान गर्छन् ।

पार्टीको सभापति र संसदीय दलको नेतामा शेरबहादुर देउवा छन् । राष्ट्रपतिले उनलाई नियुक्ति गर्नुपर्छ । जनताले पहिलो पार्टी पनि काँग्रेसलाई नै बनाएका छन् ।

विष्णु पौडेलको नाममा अहिलेपनि सीधासाधीलाई फसाउने काम भइरहेको छ । केपी ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भनेर हल्ला फिँजाइएको छ ।

तर, यो सम्भव देखिँदैन् । अहिले एकाएक सेयरको मूल्य बढाइएको छ । योबाट लाखौं डुब्ने देखिएको छ । भट्टीमा जानेको संख्या सेयरले थप बढाउने देखिन्छ । अहिले घरजग्ग कारोबारमा सुस्तता छाएको छ । पचासौं लाख आना हालेर खरिद गरिएको जग्गाको मूल्य स्वाटै घटेको छ ।

बेच्छुभन्दा किन्ने मान्छे भेटिँदैनन् । सहकारी, लघुवित्तले धेरैलाई धुरुक्क बनाएको छ । सहकारी भाग्दा धेरैको बचत डुबेको छ । बैंक तथा लघुवित्तले धितो खाइदिएर सुकुम्बासी बनाइदिएको छ । अनि त विकल्प नै भट्टी पसल बन्न थाल्यो । प्राइभेट कार्यालयहरुले तलब दिएका छैनन् ।

जो–जोलाई तनाव छ, सबै भट्टी पसलमा भेटिन्छन् । विदेश पठाउने नाममा म्यानपावर दलालीले पैसा खाइदिएका छन्। अनि कहाँ जानेभन्दा भट्टी । केही अरुले सकाइदिए, केही आफैंले सकाउँदै छन् । अहिले धेरैलाई कसरी छाक टार्ने भएको छ। बिहान खाए, बेलुका के खाऊको अवस्था छ।

तर, भट्टी पसल जाने बानी लागेकाहरुलाई त्यो मतलब छैन्। छोराछोरी भोकै हुन्छन्, उनीहरुलाई भट्टी पसल चहार्दै ठिक्क हुन्छ। जनताको सम्पत्तिको सुरक्षा गर्नु सरकारको दायित्व हो । विडम्बना, सरकारले आफ्नो दायित्व पूरा गर्न सकेन्। सञ्चारमाध्यमको विकास भयो तर त्यसको उपयोग हुन सकेन्।

सरकारले त जनतालाई सचेत बनाउनुपर्थ्यो । यहाँ–यहाँ ठग छन् है, सतर्क बन भनेर सरकारले सचेतना फैलाएन् । जति ठग्न सक्छौं, ठग भनेर दलालहरुलाई छाडा छोडिदियो । सरकार निरीह हुँदा जनताको बाँच्ने अधिकारसमेत खोसियो । निरोगी रोगी बन्दै गएका छन्। धेरै सुकुम्बासी हुँदै गएका छन्।

कतिपयले तनाव सहन नसकेर आत्महत्याको बाटो रोजेका छन् । जनताको समस्या कसरी सम्बोधन गर्ने ? राजनीतिक दलहरुलाई मतलब छैन्। सत्ताको मोहतिर राजनीतिक दल लागेका छन् । राजनीतिक दलहरु आफ्नै व्यक्तिगत स्वार्थमा रमाएका छन् । देश र जनताप्रति कोही पनि जिम्मेवार देखिँदैनन्।

जनता भोट र करका लागि मात्रै जस्ता भएका छन्। बेरोजगारी प्रत्येक दिन बढेको बढ्यै छ। जसका कारण युवकहरुलाई पनि रक्सीको लत लागेको छ। भर्खरका ठिटाहरु भट्टी पसलमा हुन्छन्। यसले नै देशको भविष्य कता जाँदैछ भन्ने छर्लङ्ग पार्दछ। अहिले जनताको आवाज उठाउने एक जना पनि छैन्।

जो पनि आफ्नो कर्तुत र भ्रष्टाचार लुकाउनतर्फ लागेका छन्। नेताहरु सत्ताको खेलमा रमाउने, जनता बिहानैदेखि भट्टी पसलमा बस्ने।