सरकार ७६ (२) कै बन्छ: नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार नै हुने दाबी गरेका छन्। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा नेता कोइरालाले भने,‘म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु। अब बन्ने सरकार ७६ (२) कै हुन्छ।
आफूले ७६ (२) को सरकारका विषयमा बोलेको कुरालाई ७६ (३) को जस्तो गरी प्रस्तुत गरिएको भन्दै उनले मिडियासँग गुनासो गरे।दुई ठूला दल एक ठाउँमा उभिएर आलोपालो सरकारको नेतृत्व गरेर अगाडि जाने निर्णय गरिएको उनले सुनाए।
विश्वासको मत लिन प्रधानमन्त्रीलाई संविधानले दिएको उल्लेख गर्दै कोइरालाले भने,विश्वासको मत लिन प्रधानमन्त्रीलाई संविधानले अधिकार दिएको छ। राजीनामा दिनुपर्छ भनेर हामी अगाडि बढेर केही फाइदा छैन।
कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले ७६ (२) अनुुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निर्णय गरेको छ।
कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी १७ असारमा सहमति बनेको थियो। माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारलाई एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा विश्वासको मत लिने भएका छन्।