झलनाथ खनाल प्रतिष्ठानको भ्रष्टाचार: पूर्वमन्त्रीसहित ५ जनालाई ८ वर्ष कैद फैसला

काठमाडौं। विशेष अदालतले पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार यादवसहित पाँच जनालाई आठ वर्षका दरले कैद फैसला गरेको छ।

अदालतले मधेश प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री यादव, झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी,कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई आठ वर्षका दरले कैद सजाय तोकेको हो।

मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमारलाई विशिष्ट पदमा रहेर भ्रष्टाचार गरेको भन्दै थप एक वर्ष एक महिनाको कैद सजाय ठहर भएको छ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार, उनीहरुबाट २ करोड ३५ लाखका दरले विगो असुल्ने र ३ करोड ५९ लाख ६६ हजार रुपैयाँका दरले जरिवाना तोक्ने फैसलासमेत भएको छ।

विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नामबाट समेत भ्रष्टाचार भएको ठहर सहित सर्लाही लालबन्दीमा रहेको जग्गा र सवारीसाधन जफत गर्न आदेश दिएको छ।

एन्टीस्नेक भेनमका लागि विनियोजन भएको बजेट अन्यत्र दुरुपयोग भएको अख्तियारको दावी थियो। सर्पपालन गरी त्यसबाट सर्पले डसेका बिरामीहरुका लागि उपचार गर्ने खोप बनाउने भनी झलनाथ खनालका नाममा स्थापित प्रतिष्ठानले प्रदेश सरकारबाट अनुदान लिएको थियो।