बाढीपहिरोबाट हालसम्म ८० जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौं। अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट आजसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा २०, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मौसमजन्य विपद्मा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन्। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
विपद्मा फसेका ५३ जनाको उद्धार गरिएको छ । बाढीका कारण एक सय ६१ घर डुबानमा परेका छन्। एक सय ३८ घर, ५४ गोठ, ४१ पुल, एउटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।
उक्त अवधिमा विपद्का घटनाबाट दुई हजार सात सय ६४ घर परिवार विस्थापित भएका छन्।