विभिन्न काण्ड लुकाउन मिलेका काँग्रेस–एमालेले आगामी निर्वाचनमा जनतालाई कुन मुख देखाउँछन् ?

२०७८ असारमा तत्कालिन नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकार खारेज गरी पाऊँ भनी नेपाली काँग्रेससहित साना दलहरुले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । सर्वोच्चका तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ०७८ असार २८ गते उक्त रिटउपर फैसला सुनाउँदै ओली नेतृत्वको सरकारलाई बर्खास्त वा खारेज गरिदिए ।

त्योसँगै ओलीको प्रधानमन्त्री पद गयो । सोही वर्षको असार २९ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ खाए । पछि काँग्रेसनेतृत्वकै सरकारले तत्कालिन प्रधानान्यायाधीश जबरालाई महाअभियोग लगाए र उनलाई नजरबन्दमा राखियो । आफ्नो स्वार्थका लागि त्यतिखेरको सरकारले प्रधानान्यायाधीशलाई नै नजरबन्दमा राख्यो ।

किनकि भ्रष्टाचार र सार्वजनिक–सरकारी सम्पत्तिको दुरुपयोगमा विभिन्न दलका नेताहरु मुछिएका थिए । उनीहरुले आफु जेल जानुपर्ने भएपछि प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाए । अहिले पनि शेरबहादुर देउवाकी पत्नी आरजु राणा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जाने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न तयार भए ।

यता, ओली पनि आफुलाई झापास्थित गिरिबन्धु टु स्टेटको जग्गा प्रकरणमा जोगाउन प्रचण्ड सरकार ढाल्न तयार भएका हुन् । अहिले काँग्रेस ओलीलाई प्रधानमन्त्री बनाउन तयार छ । आफुले गरेका काण्ड वा भ्रष्टाचार लुकाउन कहिल्यै न्यायाधीशलाई नै नन्जरबन्दमा राख्ने त कहिल्यै संविधान, ऐन, कानून नै नमानी जस्तोसुकै सम्झौता गरिहाल्ने ।

०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो । कोहीले काँग्रेसलाई भोट हाले, कोहीले एमाले त कोहीले माओवादी, एकीकृत समाजवादी, रास्वपा, राप्रपालगायतलाई मतदान गरे । जनताले फरक फरक पार्टीलाई भोट हालेका थिए । तर, अहिले यी पार्टी आफ्नो स्वार्थका लागि गाँसिएका छन् । अहिले सर्वसाधारण भन्छन्, ‘आरजुलाई बचाउन काँग्रेस एमालेको अगाडि लम्पसार पर्यो र गिरिबन्धुमा बच्न ओलीले यो चाल खेले ।

बिडम्वना, ओलीलाई प्रधानमन्त्री बनाउनुहुन्न भनेर काँग्रेसभित्र विरोध गर्ने एक जना पनि छैनन् । आरजुलाई पनि कानूनको दायरमा ल्याउनुपर्छ भनेर काँग्रेसमा कोही बोल्न सक्दैनन् ।

ओलीनेतृत्वको ०७८ वैशाख ७ र १३ गतेको मन्त्रिपरिषद् बैठकले गिरिबन्धुको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने निर्णय गरेको थियो । यो कानूनकै दुरुपयोग हो । कानूनमा सरकारी÷सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न वा दुरुपयोग गर्न नपाइने व्यवस्था छ ।

तर, यसविरुद्ध एमाले वा अन्य राजनीतिक दलका नेताहरु केही बोल्न सक्ँदैनन् । अहिले काँग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्न लागिएको छ । काँग्रेसले भ्रष्टाचार वा विभिन्न काण्डमा मुछिएकालाई नै मन्त्री बनाउने तयारी गरेको छ । आरजु, रमेश लेखकहरु मन्त्री बन्ने तयारीमा छन् । रमेश लेखक यसअघि पनि पटकपटक मन्त्री भइसकेका छन् । मन्त्री हुँदा उनले देश र जनताका लागि केही गरेनन् ।

नेपालको राजनीतिक परिवर्तनमा आरजुको कुनै योगदान छैन । उनी जनताले चुनेर पठाएको जनप्रतिनिधि पनि होइन । तर, काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा यसको विरोध गर्न सक्दैनन् । यता, काँग्रेसका लोकप्रिय नेता डा.शेखर कोइराला र शंशक कोइराला पनि केही बोल्दैनन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजानेमा माधव नेपाल र बाबुराम भट्टराई हुन् भनेर जनतालाई स्पष्ट थाहा छ ।

ललिता निवासको आठ आना जग्गा सेटिङ्ग मिलाएर एमाले नेता विष्णु पौडेलले आफ्नो छोराको नाममा पास गरेको पनि प्रष्टै छ । अहिले एमालेबाट मन्त्री हुनेमा विष्णु पौडेल र योगेश भट्टराईको नाम आइरहेको छ । भट्टराईले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा धेरै भ्रष्टाचार गरेको बताइन्छ । उनको काठमाडौंमा मात्र चार–पाँच वटा आलिशान घर रहेको सुनिएको छ ।

नेताले कसरी झुक्याउँछन् भनेर जनताले पनि बुझ्नुपर्छ । ०७९ सालको निर्वाचनमा गगन थापाले काठमाडौं क्षेत्रनम्बर ४ बाट उम्मेदवारी दिएपछि जनताको घरदैलोमा भोट माग्न जाँदा भने, ‘मलाई मतदान गर्नुस् । यो क्षेत्रले प्रधानमन्त्री पाउँछ ।’ उनी ०७० सालदेखि लगातार यही क्षेत्रबाट चुनाव जित्दै आएका थिए । थापाको क्षेत्र कपन वा सरस्वती नगर बर्खामा पानी पर्नासाथ डुबानमा पने गथ्र्यो ।

घरघरमा पानी पस्थ्र्यो । गएको साउनमा काठमाडौं महनगरपालिकाका मेयर बालेन्द्र शाह –बालेन) ले त्यहाँ खोलामाथि बनाइएको घर भत्काइदिए र खोलालाई बग्न दिइयो । यो पटक सबैभन्दा धेरै वर्षा भएको छ । र, हुने क्रम जारी नै छ । तर, यस पटककपन डुबेन । यत्रो पानी पर्दा देशभरका विभिन्न जिल्लाका विभिन्न ठाउँ डुबानमा पर्दा सानो पानी आउँदा समेत डुब्ने कपन यो पटक डुबेन ।

गगन थापाले आफ्नो क्षेत्रमा खोलामाथि बनाइएको घर हटाउन सकेनन् तर देशको प्रधानमन्त्री हुन्छु भन्दै भाषण गर्न भ्याए । उनी ०७० सालमै त्यस क्षेत्रको सांसदमा निर्वाचित भएका थिए । बर्खामा कपनबासीलाई निकै सास्ती हुँदै आएको थियो । यदि उनले सांसद हुनासाथ त्यहाँ खोला अतिक्रमण गरेर बनाएको संरचना हटाएको भए आज उनको चारैतिर वाहवाह हुन्थ्यो ।

तर, उनले त्यस्तो केही काम गरेनन् । उल्टै देशको प्रधानमन्त्री बन्छु भन्दै सर्वसाधारणलाई भ्रममा पारे । अहिले कपनबासी निकै खुशी छन् । बालेनको कामको तारिफ गरेर उनीहरुलाई भ्याइनभ्याइ छ । ओली ०७४ फागुल्न ३ गते प्रधानमन्त्री बने । त्यतिखेर नेपालको विदेशी ऋण सात खर्ब थियो । ०७८ असार २८ गतेसम्म प्रधानमन्त्री भएका उनले त्यतिखेरसम्म विदेशी ऋण १९ खर्ब पुर्याइदिए ।

उनले विदेशीसँग ऋण लिँदै आफ्नो र महेश बस्नेतको क्षेत्रमा मात्र अर्बौ बजेट खन्याए । प्रधानमन्त्री हुँदा ओली पटकपटक बिरामी भए । उनलाई कहिले उपचारका लागि विदेश पुर्याइन्थ्यो त कहिले मुलुककै महँगा अस्पताल । ओलीको उपचारमा मात्र जनताले तिरेको खर्बौ कर सकिएको छ । ओलीले प्रधानमन्त्री हुँदा एमालेबाटै चुनाव जितेर आएका अन्य संसदलाई समेत बजेट दिएनन् ।

यता, एमाले–माओवादी गठबन्धनबाट माओवादीबाट निर्वाचित जुम्लाका सांसद गजेन्द्रबहादुर महत त आफ्नो क्षेत्रमा बजेट नदिइएको भन्दै सदनमै रोए पनि । अहिले पनि एमालेमा ओलीको विरोधमा बोल्न सक्ने कोही छैन । अहिले देशको अलिअलि बाँकी भएको सरकारी–सार्वजनिक जग्गा पनि काँग्रेस र एमालेले मिलेर बेच्ने भएका छन् । सरकारी–सार्वजनिक जग्गा मात्र होइन यीनीहरुले कुनै दिन आफ्नै देश पनि बेच्ने छन् ।

यता, कोही पनि काँग्रेस–एमालेको विरोधमा बोल्न पनि नहुने । भ्रष्टाचार फाइल पनि खोल्न नदिने । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार २५ वटा फाइल खोल्ने बताएसँगै रातारात सरकार परिवर्तन भयो । जेलमा बस्नुपर्ने आरजु र ओली फेरि पनि मन्त्री, प्रधानमन्त्री बन्ने भएका छन् । त्यसैले, अब सर्वसाधारण पनि निहुरिएर हिँड्नुपर्ने भएको छ ।

हिजो यस्ता भ्रष्टाचारी, सामान्तीहरुलाई लखेट्न प्रचण्डले जनयुद्धको शुरुवात गरेका थिए अब जनताले जनयुद्ध शुरु गर्नुपर्छ । नभएसम्म यस्ता व्यक्तिहरुले जनता त लुट्ने नै छन् सँगै राज्यलाई समेत सकाउने छन् । अहिले जनता दलका कार्यकर्ता भएका छन् । त्यसैले, यीनीहरु भ्रष्टाचारी हुन् भनेर जनता पनि खुलेर बोल्न सक्दैनन्। अब सर्वसाधारण दलको कार्यकर्ता होइन आफ्नो मातृभूमिको रक्षक बन्नुपर्छ । राज्य र जनताको सम्पत्तिमाथि मोजमस्ती गर्ने यीनीहरुलाई देशबाटै खेद्नुपर्छ ।

हिजो हामी मिल्दै मिल्दैनौं भन्ने काँग्रेस–एमाले आगामी चुनावमा कुन मुख लिएर जनताको घरमा भोट माग्न जान्छन्। अनि जनताले पनि किन यीनीहरुलाई भोट दिने? अहिले भ्रष्टाचारका काण्ड लुकाउन मिलेका काँग्रेस–एमालेको यसको परिणाम आगामी निर्वाचनमा देख्नेछन्।