सरकारमा कांग्रेसको नेतृत्व प्रकाशमान सिंहले गर्ने, मन्त्री बन्ने सांसदहरू यी हुन
काठमाडौं। नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा पार्टीभित्र छलफल तिव्र अगाडि बढाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्री नियुक्त हुँदैछन्।
कांग्रेस ओली नेतृत्वको सरकारमा पूर्वउपसभापति प्रकाशमान सिंहले नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। सभापति शेरबहादुर देउवाले त्यसका लागि पार्टीका इतर पक्षका नेता डा.शेखर कोइराला, महामन्त्री गगन थापासहित पार्टीका नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका छन्।
एक नेताका अनुसार प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने निश्चितजस्तै भएको छ। त्यसबारे छलफल गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखिएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। यसपटक सभापति देउवा पार्टीभित्र विवाद नहुनेगरी सन्तुलन मिलाउने प्रयास गरिरहेका छन्।
ती नेताका अनुसार सभापति देउवा प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा मन्त्री पठाउने तयारी गरेका छन्। अहिलेसम्म सिंहसहित रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरासियाको मन्त्री बन्ने निश्चित भएको ती नेताको भनाइ छ।
एमालेसँगको सहमति अनुसार कांग्रेसले बढीमा १० मन्त्रालय पाउनेछ। अहिलेसम्म मन्त्री बन्ने निश्चित भएका परियार शेखर समूहका हुन् । अरु चार जना देउवानिकटका हुन्।
पाँच जनाको नाममा अनौपचारिक सहमति भएपनि थप मन्त्रीको विषयमा देउवाले छलफल गरिरहेका छन् । कांग्रेस स्रोतका अनुसार दीपक खड्का र दीपक गिरीमध्ये एक जनालाई मन्त्री बनाउने देउवाको तयारी छ । तर, खड्काको सम्भावना बलियो रहेको बताइन्छ । उनी शशांकसँग देउवा गुटमा पनि नजिकिँदै गरेकाले देउवाले खड्काको नाममा सहमति जनाउने सम्भावना रहेको स्रोतको भनाइ छ।
यस्तै, कर्णाली प्रदेशबाट मुगुका ऐनबहादुर शाही र सुर्खेतका हृदयराम थानीमध्ये एकजना मन्त्री बन्दैछन्। थामी शेखर समूहका हुन्। कांग्रेसका पूराना नेता अर्जुननरसिंह केसी र रामनाथ अधिकारीबारे पनि छलफल भइरहेको बताइएको छ। यस्तै, शेखर समूहका नेता चन्द्र भण्डरीले पनि मन्त्री बन्नका लागि देउवा र शेखरसँग कुरा गरिरहेका छन्। तर, अझैसम्म मन्त्री बन्ने नबन्ने निश्चित भइ नसकेको बताइन्छ।
यस्तै, महामन्त्री गगन थापाले पनि आफ्नो कोटामा काठमाडौंबाट निर्वाचित प्रदीप पौडेललाई मन्त्री बनाउन देउवालाई दबाब दिइरहेका छन्। जसरी हुन्छ, प्रदिपलाई सरकारमा पठाउने पक्षमा गगन उभिएका छन् । तर, पौडेलको नाममा देउवा सकारात्मक नरहेको बताइन्छ।