बेपत्ता बसको खोजी गर्न आजबाट ठुलो चुम्बक प्रयोग गरिँदै

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् ।

शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिने भएको हो।खोजी कार्यको लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो ।

दुई बस फेला नपरेपछि आजबाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठुलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो ।

घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठुलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो ।

शनिबार बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार मृतावस्थामा तीनवटा शव भेटिएकोमा दुई जनाको पहिचान खुलेको छ ।