बैंक संकटमा परेको राष्ट्र बैंकले नै गर्यो पुष्टि,सहकारीकै अवस्थामा पुग्ने सर्वसाधारणको चिन्ता

अहिले बाटोमा हिड्डुल गर्दा विशेष गरी तीन वटा कुरा देखिन्छ । एउटा जताततै सटर खाली छन् । दोस्रो व्यापारीहरु निराश भएर बसिरहेका हुन्छन् भने तेस्रो बैंकको एटीएम मेशिनमा ग्राहकको भीडभाड । त्यसो त अहिले बैंकमा पनि सेवाग्राहीहरुको चाप बढ्दै गएको छ । तर, त्यो भीड पैसा जम्मा गर्नेको होइन, डिपोजिट निकाल्नेको हो ।

बजारमा बैंक डुबेको चर्चा निकै तीव्र रुपमा फैलिएको छ । भनिन्छ, अधिकांश बैंक डुबिसक्यो । बैंक पनि अब सहकारीजसरी भाग्छन्, बन्द हुन्छन् । सार्वजनिक स्थलदेखि चिया पसल, भाडाका गाडीसम्म यँही चर्चा छ । जंगलमा बाघ कराउनु र घरको गोठबाट खसी हराउनु एकै पटक भयो भनेझैं अहिले बजारमा एकातिर बैंक डुब्ने चर्चा छ, अर्कोतिर पैसा निकाल्नेको भीड ।

नेपाल राष्ट्र बैंकले हालसालै एक बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । यसले बैंकमा संकट देखिसकेको समेत पुष्टि गर्दछ । किनकि सहकारी पनि यसरी नै डुबेको थियो । यता, राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्यायो । मौद्रिक नीति यथावत् रहेकाले सेयर बजार झनै ओरालो यात्रातर्फ जाने देखिएको छ ।

अहिले नै सेयरको मूल्य २६ सयमा झरिसकेको छ । अब कतिमा झर्ने हो कुन्नि ? यता, घरजग्गा, गाडीको पनि उस्तै अवस्था छ । घरजग्गा कारोबारमा दिनानु दिन मन्दी आइरहेको छ । पाँच वर्षअघि करोडौंमा किनिएको घर अहिले त्यसको आधा मूल्यमा बिक्री हुदैँन । लाखौंमा खरिद गरिएको गाडी सस्तोमा बिक्री भइरहेको छैन ।

बजार झन झन मन्दीतर्फ मोडिएको छ । काठमाडौं उपत्यकासहित देशभर कोठा, सटर र फ्ल्याट खाली हुने क्रम बढ्दो छ । व्यापारीहरु व्यवसाय ठप्पै भएको गुनासो गर्छन् । भन्छन्, ‘दिनभरी ग्राहक कुरेर बस्छौं । तर, बेलुकासम्म बहनी पनि हुदैँन ।’ मानिससँग पैसा नै नभएको उनीहरुको बुझाइ छ । उता, भाटभटेनी, सुपरमार्केट, बिग मार्टहरुको पनि व्यापार घटिरहेको छ । गुणस्तरहीन, कमसल सामान त्यो पनि महँगोमा बेचिएको पाइएपछि सर्वसाधारण यहाँ जान छोडेका छन् ।

अधिकांश व्यापार व्यवसायी व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेको बताउँछन् । व्यापार नहुँदा सटर भाडा तिर्न नसकेको जनाउँदै उनीहरु भन्छन्, ‘आज र भोलि भन्दाभन्दै वर्षौ बितिसक्यो । व्यापार व्यवसाय ठप्प भएको । सटर भाडा तिर्न सकेको छैन । फेरि घरधनीहरु भाडा पनि घटाउँदैनन् । अब अब सटर छोड्ने सोचमा छौं ।सटर छोडेपनि कोही आफ्नो गाउँघर फर्किएर खेतीपाती गर्ने बताउँछन् त कोही विदेश पलायन हुने जनाउँछन् ।

व्यापार व्यवसाय मात्र होइन, पछिल्ला केही वर्षयता जुनसुकै क्षेत्रमा मन्दी छ । आम नागरिकको सबैभन्दा बढी भीडभाड हुने मालपोत, यातायात कार्यालय अचेल सुनसान देखिन्छन् । मालपोत कार्यालय वरपर केही मानिसहरु भेटिन्छन् । तर, उनीहरु घरजग्गा खरिद गर्ने खोजिरहेका हुन्छन् । यातायात कार्यालयमा पनि गाडी बेच्न चाहने मात्र हुन्छन् । रात गएपछि दिन आउँछ । मानिस जन्मिएपछि एक दिन मर्नैपर्छ । कोही छिटो मर्छ त कोही ढिलो ।

व्यक्तिदेखि बैंक तथा वित्तिय संस्थाहरुले घरजग्गा, गाडी र सेयरको पनि मूल्य घट्न सक्छ भनेर सोचेनन् । उनीहरुले यसको मूल्य बढिरहन्छ र हामी कमाइरहन्छौं भन्ने ठाने । जसको परिमाण अहिले भोगिरहेका छन् । घरजग्गा, गाडी र सेयरमा गरेको लगानी डुब्दा व्यक्तिहरु डिप्रेसनमा गएका छन् । मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । यता, बैंकका सञ्चालक, अध्यक्षहरु पनि तनावमा छन् ।

छिट्टै नाफा कमाउन घुसको आडमा घरजग्गा, गाडी र सेयरमा लगानी गरेका उनीहरु अहिले यसको मूल्यमा भारी गिरावट आएपछि बेचैन छन् । यो क्षेत्रमा व्यक्ति तथा बैंक, वित्तिय संस्थाको लगानी डुब्नुमा सरकारको पनि कमीकमजोरी छ । दलालीहरुले खेतीयोग्य जमिन प्लाटिङ गरेर दश हजार रोपनीमा बिक्री नहुने जग्गा आनाकै लाखौंमा बेचबिखन गरे ।

बैंकले एक सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालीहरुले ३२ सय पुर्याए । छिमेकी देश भारत र चीनबाट एक लाखमा ल्याएको गाडी यहाँका दलालीहरुले लाखदेखि करोडमा बेचे । दलालीहरुको यो खेलबाट सर्वसाधारण, बैंक, वित्तिय संस्था अन्जान थिए । दलालीकै लहैलहैंमा लागेर उनीहरुले यो क्षेत्रमा आँखा चिम्लेर लगानी गरे । तर, सरकारले पनि दलालीहरुले खुलेआम ठग्न छुट दियो ।

यदि सरकारले दलालीहरुको पहिलो कदममै बञ्चरो हानिदिएको भए आज यत्रो सर्वसाधारण र बैंक, वित्तिय संस्था डुब्नु पर्दैन्थ्यो । सरकार करको लोभमा लाग्यो । अनि दलालीहरुले जे गर्दा पनि चुपचाप बस्यो । सरकारले करकै लागि आफ्नो नागरिक त डुबायो नै सँगै देशकै अर्थतन्त्र समेत धरापमा पारेको छ । बैंक, वित्तिय संस्थाप्रति आम जनताको विश्वास पनि घट्दो छ ।

सरकारले यसका लागि पनि केही गर्न सकेको छैन । हुन त सहकारीले यत्रो सर्वसाधारणको बिल्लीबाँठ बनाएपछि जनताले कसरी बैंकप्रति विश्वास गर्नु ? तर, बैंक, वित्तिय संस्थाप्रति जनताको विश्वास कायम राख्न सहयोग गर्नु सरकारको पनि दायित्व हो । फेरि हामी कहाँ त सरकार आफ्नै सरमा हुने गरेको छ।

सरकारमा बसेकाहरुलाई आफ्नो कुसीबाहेक अरु केही कुराको टेन्सन छैन । चार वर्षयता जनताले बैंकबाट कर्जा लिन छोडेका छन् । ऋण लिएकाहरुले पनि नतिरिदिँदा बैंक संकटमा परेको छ । किनकि राखेको धितोको मूल्य निरन्तर घटिरहेको छ । केही वर्षअघिसम्म बैंकले निक्षेपको ११ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याज दिन्थ्यो ।

पैसा तान्नका निम्ति बैंकहरुबीच निक्षेपको ब्याजदर कसले बढी दिने भनेर होडबाजी नै चल्थ्यो । अहिले प्रायजसो सबै बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । तीन प्रतिशतदेखि बढीमा सात प्रतिशतसम्म ब्याज दिइन्छ । तर, त्यो पनि दिन बैंकलाई हम्मेहम्मे परेको छ । बैंकको आम्दानी भनेको कर्जा प्रवाह हो । बैंकले जति ऋण प्रवाह गर्न सक्यो, त्यति नै आम्दानी गर्छ ।

यद्यपि, पछिल्लो समय बैंकबाट कर्जा प्रवाह हुनै छोडेको छ। व्यापारी, सर्वसाधारणहरु बैंकमा ऋण लिन जादैँनन्। यस्तो हुनुमा बैंक पनि दोषी छ । हिजो बैंकले सर्वसाधारणलाई लुट्नु लुट्यो। ऋणीलाई घर न घाटको अवस्थामा पुर्याइदियो। ऋणीहरुसँग घुसदेखि चर्को ब्याज असुल्नुका साथै तीन किस्ता नतिर्नेबित्तिकै धितो नै पचाइदिने।

बैंक, वित्तिय संस्थाको यस्तो लुटधन्दाबाट सर्वसाधारण वाकदिक्का भएका थिए । तर, भनिन्छ नि कहिले सासुको पालो त कहिले बुहारीको । त्यसरी नै हिजो बैंकले ऋणीको उठीबास लगायो त अब बैंक टाट पल्टिने अवस्थामा पुगेको छ । बैंकको आम्दानी घट्दै गएको छ । हाल मुलुकमा सञ्चालनमा रहेका प्रायजसो बैंक संकटमा परिसकेका छन्।

दैनिक खर्च धान्नदेखि कर्मचारीलाई तलब, घर भाडा तिर्न उनीहरुलाई समस्या पर्न थालेको छ। त्यसैले,अब बैंक पनि सहकारीजसरी त भाग्दैन भन्ने आशंका समेत उब्जिएको छ। सहकारीले करोडौं बचतकर्ताको बिचल्ली बनायो। करोडपतिबाट सडकछाप बनाइदियो। अब बैंकमा बचत गरेका सर्वसाधारणको पनि यही अवस्था त हुदैँन भनेर डर सिर्जना भएको छ।