विराटनगरले दियो जनकपुर बोल्ट्सलाई १२७ रनको सामान्य लक्ष्य

काठमाडौं। जनकपुर बोल्ट्सका बलरको उत्कृष्ट प्रदर्शनपछि विराटनगर किंग्स एनपीएलको उद्घाटन खेलमा १२७ रनमा अलआउट भएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा जारी जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको हो।

विराटनगरका लागि गप्टिलले सर्वाधिक ५५ रन बनाए। पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे।

६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । तर इल्यास पनि १५ रन बनाएर आउट भए। त्यसपछि आएका ब्याटरले गप्टिललाई राम्रो साथ दिन सकेनन्। निकोलस किर्टोन ९, बसिर अहमद ७ र राजेश पुलामी मगर १ रनमा आउट भए।

जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे। ललितले पनि ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यस्तै क्यानडियन अलराउण्डर हर्श थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।