आज काठमाण्डु गुर्खाज र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज पनि दुई खेल हुँदैछ । आजको दोस्रो खेलमा काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

काठमाण्डुका करण केसीको र सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छन् । दुवै टोली पछिल्लो खेल जितेर आएका टोली हुन् ।

काठमाण्डुले २ खेलमा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले एक खेल खेल्दा जितेको छ । दुवै टिममा राष्ट्रिय टिमका अनुभवी खेलाडी देखि विदेशी खेलाडीहरु पनि राम्रा छन् ।

काठमान्डु टिममा करणसहित राष्ट्रिय टिमका भिम शार्की छन् भने राष्ट्रिय टिमको अनुभव भएका स्पीनर शाहब आलमदेखि मिडियम पेस बलिङ अलराउण्डर रासिद खान पनि छन् । करणले बुधबारको खेलमा राम्रो प्रदर्शन गर्दै टिमको जितमा अहम भूमिका खेलेका थिए ।

यस्तै, उमेर समूहबाट आएका युवा स्पीनर दिपेश कँडेल पनि छन् । यसबाहेक घरेलु क्रिकेटमा नियमित खेलिरहेका शंकर राना, सुमित महर्जन र कृष्ण कार्की पनि छन् । सुमित महर्जन बुधबार कर्णाली याक्ससँगको खेलमा म्यान अफ दि म्याच भएका थिए ।
विदेशी खेलाडीमा नामिबियाका कप्तान जेरार्ड एरासमस र नेदरल्याण्ड्सका माइकल लेभिट छन् भने इंग्ल्याण्डका स्टफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर छन् ।

यस्तै, सुदूरपश्चिममा कप्तान र मुख्य प्रशिक्षकदेखि धेरै खेलाडी आफ्नै क्षेत्रका छन् । नेपालका सफल प्रशिक्षक जगत टमाटा प्रशिक्षक रहेको टिममा कप्तान दीपेन्द्रबाहेक विनोद भण्डारी, नरेन साउद, भोजराज भट्ट, हाल क्यानडामा बसेर उतै क्रिकेट खेल्ने नरेश बुढाएर, खडग बोहरा र बसन्त खत्री छन् ।

यसबाहेक सुदूरपश्चिम बाहिरका आरिफ शेख, अर्जुन कुमाल अमित श्रेष्ठ इशान पाण्डे जस्ता खेलाडी छन् । यू १९ एसिया कप खेल्न युएईमा गएका अर्जुन कुमाल र नरेन साउद फर्किसकेका छन् । उनीहरू खेलका लागि उपलब्ध हुनेछन् ।

सुदूरको विदेशी खेलाडीमा चर्चित रोहन मुस्ताफा, न्युजिल्याण्डका स्कट कुगेलेइन, स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन र इंग्ल्याण्डका सैफ अली जैब छन् । उनीहरू चारैजना आज खेल्ने छन् ।

काठमाण्डुको टप अर्डरले अझै सोचेजस्तो प्रदर्शन गर्न सकेको छैन । त्यसमा सुधार गर्नुपर्ने हुन्छ । सुदूरले पहिलो खेलमा राम्रो ब्याटिङँगै शानदार बलिङ गरेको थियो । आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा हुनेछ।