जाजरकोटमा जिप खस्यो,चालकसहित २ युवाको मृत्यु

काठमाडौं । गएराति जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति करिब ८ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा जिपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका हमाल, केसी र २३ वर्षीय कमल चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो । तर, अस्पतालका चिकित्सकले उनीहरुको मृत्यु भइसकेको घोषणा गरेका थिए।

चौधरीको भने जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको छ। उनीहरु भेरी नगरपालिका–७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा मजदुरी गर्दै आएका मजदुर हुन्।