डा.निकोलस भुसाललाई आज अदालत लगिँदै

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी रास्वपाका सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ ।

यसअघि पुस ७ गते पक्राउ परेर छुटेका डा भुसाल सोही मुद्दामा हिजो बिहीबार पुनः समातिएका हुन् । साइबर अपराधको असुरमा विहीबार पक्राउ परेका उनलाई आज जिल्ला अदालतमा पेस गरिने कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले जानकारी दिए ।

पुस ८ गते अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि विहीबार फेरि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए।

उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की जिल्ला प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो । भुसालले फेसबुक लाइभमा आएर त्यो फोटो आफूले खिचेको र फोटो सार्वजनिक गर्दा खराब नियत नराखेको अभिव्यक्ति दिएका थिए।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका लामिछाने गत पुस २५ गते ६५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन्।