स्कटल्याण्डसँग नेपाल पराजित,सुपर ६ को सम्भावना न्यून
काठमाडौं। १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ। यससँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ।
नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ८ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो। नेपालकी सिमाना केसी र रचना चौधरीले २-२ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन।
स्कटल्याण्डका लागि पिपा स्प्रोलले ३५ रनको शानदार पारी खेल्दै टोलीलाई खेलमा जीवितै राखेकी थिइन्। त्यसअघि बांगीस्थित युएसडी/युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो।
नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेल्दा ३ चौका प्रहार गरिन्। नेपाललाई अलआउट गर्न स्कटल्याण्डकी माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन्। यस्तै एम्मी बाल्डी र नायमा शेखले २-२ विकेट लिए।