वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका-६ घर भई काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने ३६ वर्षीय विजय साह, धनुषा धनुषाधाम नगरपालिका-४ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२ बस्ने ४७ वर्षीया विवाह घले रहेका छन्।

पक्राउमध्ये विजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रुपैयाँ, नेहाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख ५० हजार रुपैयाँ र विवाहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूले उजुरी दिएका थिए।

त्यही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विजयलाई काठमाडौं महानगरपालिका-२६ र नेहालाई ललितपुर महानगरपालिका-१७ बाट सोमबार तथा विवाहलाई ललितपुर महानगरपालिका-१ बाट मंगलबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।